• Monday, July 27, 2026

मृत्युको छायाँ नमेटिँदै: सौर्य दुर्घटनाका पाइलटलाई पुनः उडान अनुमति दिलाउन महानिर्देशककै दबाब


काठमाडौं । १७ जनाको ज्यान जाने सौर्य एयरलाइन्स दुर्घटनापछि नियामक निकायको भूमिकामाथि उठेका प्रश्नहरू अझै साम्य नहुँदै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भित्र अर्को गम्भीर विवाद सतहमा आएको छ। प्राधिकरणका महानिर्देशकले दुर्घटनामा संलग्न पाइलट मणिरत्न शाक्यलाई पुनः उडान अनुमति दिलाउन आन्तरिक संयन्त्रमाथि दबाब दिएको दाबी स्रोतहरूले गरेका छन्।

प्राधिकरणसँग निकट स्रोतका अनुसार उड्डयन सेवा निर्देशनालयलाई नियामकीय प्रक्रिया छोट्याएर पाइलटलाई उडान अनुमति दिन मौखिक तथा प्रशासनिक दबाब दिइएको थियो। स्रोतको दाबीअनुसार नयाँ महानिर्देशकको नियुक्तिपछि उक्त फाइल अस्वाभाविक गतिमा अघि बढाइएको थियो।यो दाबी त्यतिबेला झन् गम्भीर बन्छ, जब सौर्य एयरलाइन्स दुर्घटनाको छानबिन प्रतिवेदनले कम्पनी व्यवस्थापन, उडान चालक दल तथा नियामकीय निकायको निगरानी प्रणालीमै गम्भीर कमजोरी रहेको औँल्याएको थियो। प्रतिवेदनले दुर्घटनालाई केवल प्राविधिक त्रुटिको परिणाम नभई नियामकीय असक्षमताको उदाहरणका रूपमा समेत चित्रण गरेको थियो।

यसैबीच, वर्षौँदेखि नियमित उडान नगरेका एक विदेशी पाइलटलाई नेपाल ल्याएर व्यावसायिक उडान सञ्चालनको अनुमति दिइएको भन्ने अर्को दाबी पनि स्रोतहरूले गरेका छन्। यदि यस्तो निर्णय स्थापित मापदण्डविपरीत भएको पुष्टि भए, त्यसले उडान सुरक्षाको जिम्मेवारी बोकेको नियामक निकायको विश्वसनीयतामाथि थप गम्भीर प्रश्न उठाउने देखिन्छ।उड्डयन क्षेत्रका जानकारहरूका अनुसार उडान अनुमति प्रक्रिया पूर्ण रूपमा योग्यता, दक्षता, मेडिकल परीक्षण, सिमुलेटर मूल्याङ्कन तथा प्रचलित नागरिक उड्डयन नियमका आधारमा हुनुपर्ने व्यवस्था छ। कुनै पनि प्रकारको प्रशासनिक वा व्यक्तिगत प्रभावका आधारमा अनुमति प्रदान गरिनु उडान सुरक्षाका लागि गम्भीर जोखिम हुन सक्छ।

Please Login to comment in the post!

you may also like