• Sunday, July 26, 2026

विवादित छविका न्यौपाने उपमहानिर्देशकमा बढुवा, निर्णयमाथि प्रश्न


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रशासन शाखा निर्देशक बिनोदप्रसाद न्यौपाने उपमहानिर्देशक पदमा बढुवा भएपछि उक्त निर्णयमाथि प्रश्न उठ्न थालेको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले न्यौपानेलाई उपमहानिर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो। तर कार्यसम्पादन, क्षमता र संस्थागत योगदानका आधारमा बढुवा हुनुपर्नेमा यसपटक व्यक्तिगत पहुँच र मनोकाङ्क्षा हाबी भएको आरोप प्राधिकरणभित्रकै स्रोतहरूले लगाएका छन्।

प्राधिकरणको कर्मचारी प्रशासन शाखा प्रमुख रहँदा न्यौपानेले गरेका बढुवा सिफारिसहरू पटक–पटक प्रशासनिक अदालत तथा न्यायिक अदालतबाट बदर भएका थिए। स्रोतका अनुसार गत वर्ष मात्रै विभिन्न तहका कर्मचारीको बढुवा सम्बन्धी उनले गरेका करिब ९० प्रतिशत सिफारिस अदालतले अयोग्य ठहर गर्दै निर्णय उल्ट्याएको थियो। यसले बढुवा प्रक्रिया सञ्चालनमा उनको भूमिका, निर्णय क्षमता र प्रशासनिक निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको कर्मचारीहरूको भनाइ छ।

न्यौपानेमाथि खरिद प्रक्रिया केन्द्रीकृत गरी आर्थिक अनियमितता गरेको, आठौँ तहका कर्मचारीलाई दशौँ तहको जिम्मेवारीमा खटाएको लगायतका आरोप यसअघि नै लाग्दै आएका छन्। यस्ता विवाद र आरोपहरू सार्वजनिक रूपमा उठिरहेकै अवस्थामा उनलाई “उत्कृष्ट कार्यसम्पादन” को आधार देखाएर उपमहानिर्देशकमा बढुवा गरिएपछि निर्णयको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि थप प्रश्न उठेको छ।

Please Login to comment in the post!

you may also like