काठमाडौं । भारतले पाकिस्तानमाथि क्षेप्यास्त्र हमला गरेको छ । बुधबार बिहान पाकिस्तानका ९ स्थानमा भारतले क्षेप्यास्त्र प्रहार गरेको हो । भारतको आक्रमणसँगै पाकिस्तानी सेनाले पनि जवाफी आक्रमण गरेको छ ।दुवै पक्षको आक्रमणबाट दर्जनौं नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।भारतले आतंकवादी संरचनाहरू भएका क्षेत्रमा आक्रमण गरेको दाबी गरेको छ ।
भारत सरकारले जारी गरेको विज्ञप्तिमा उसले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही सुरु गरेको उल्लेख छ। एएनआईका अनुसार उक्त अप्रेशन सिन्दूरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले मनिटरिङ गरेका थिए । उसले पाकिस्तानी सेनाको कुनै पनि संरचनामा प्रहार नगरिएको बताएको छ ।
पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले जियो टीभीसँग कुरा गर्दै ती आक्रमण गैरसैनिक इलाकामा नै भएको बताएका छन् । तर, भारतले ‘आतङ्कवादीका शिविरलाई लक्षित गरिएको’ भनी झुटो बोलिएको उनको दाबी छ । उनले बताए अनुसार पाकिस्तानका तीन भिन्नाभिन्नै ठाउँहरु पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद र कोट्ली अनि बाहवालपुर आक्रमण भएको छ ।
सञ्चार माध्यमका अनुसार भारतीय आक्रमणबाट बहावलपुरमा मात्रै ३० जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।भारततर्फको आक्रमणपछि पाकिस्तानी पनि जवाफी आक्रमण गरेको छ । बीबीसीले जनाएअनुसार पाकिस्तानी सेनाको आक्रमण परी कश्मीरमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ । यद्यपि, पाकिस्तानले ठूलो स्तरमा प्रतिक्रिया दिएको छैन ।
तर, पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले भारतीय आक्रमणप्रति कडा निन्दा व्यक्त गर्दै जवाफ फर्काउने बताएका छन् । “शत्रुले पाकिस्तानभित्रका ५ स्थानमा कायरतापूर्ण हमला गरेको छ, यो दुष्टतापूर्ण आक्रामक कारबाहीको जवाफ दिइनेछ”, एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शरिफले भनेका छन् ।
पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भारतले पाकिस्तानमा रहेका आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै आक्रमण गरेको हो । तर, भारतको आक्रमणसँगै दोहोरो युद्धको अवस्था देखिएको छ ।