काठमाडौँ, वैशाख २४ - श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रा तथा शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९ औं जयन्तीको पावन अवसरमा बुढानिलकण्ठ–१३, गाम्चामा एक भव्य सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ। ड्रायगन युवा क्लबको आयोजनामा हुने उक्त कार्यक्रम यही २०८२ साल वैशाख २९ गते, बुद्ध जयन्तीको दिन, मध्यान्ह १२:०० बजेबाट सुरु हुनेछ।
ड्रायगन युवा क्लबद्वारा लगातार पाँचौँ पटक आयोजना गर्न लागिएको यस बृहत् कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन्। कार्यक्रममा लोकप्रिय गायिका निशा देशार, गायक दुर्गेश थापा, एलिना चौहान, राजेन्द्र रिगी एण्ड टिम, रोजिना श्रेष्ठ, मुस्कान महर्जन, शान्ति शाही, पवित्रा पुरी लगायतका कलाकारहरू सहभागी हुनेछन्। साथै, श्री गणेशकुमार बाँसुरी खलःको विशेष प्रस्तुति पनि रहनेछ।
कार्यक्रम निर्देशक रमेश श्रेष्ठ “प्रवेश”का अनुसार यो सांस्कृतिक कार्यक्रमले नेपाली कला, संस्कृति र साहित्यको प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य बोकेको छ। "हाम्रो मौलिकता जोगाउँदै स्थानीय प्रतिभालाई मञ्च दिनु नै हाम्रो मुख्य लक्ष्य हो," उनले बताए।
ड्रायगन युवा क्लबका अध्यक्ष रोहित श्रेष्ठले क्लबले समाज र युवाहरुका लागि निरन्तर सिर्जनात्मक र सामाजिक कार्यहरू गर्दै आएको जनाउँदै, “खेलकुद, घरेलु सीप, तालिम तथा कार्यशालाहरू मार्फत हामी युवालाई सशक्त बनाउन लागिपरेका छौं,” भने।
कार्यक्रम संयोजक हरिकृष्ण श्रेष्ठले यो कार्यक्रम मनोरञ्जनको माध्यम मात्रै नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानको एक हिस्सा भएको उल्लेख गरे। "हामी सबै युवालाई सिर्जनात्मक यात्रामा जोड्ने मियो बन्ने आशा राखेका छौं," उनले भने।
स्थानीय समुदायको सहभागिता र सांस्कृतिक पहिचानको सम्वर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित आयोजना हुने यो कार्यक्रमले बुढानिलकण्ठ क्षेत्रलाई सांस्कृतिक केन्द्रको रूपमा थप परिचित गराउने विश्वास आयोजकले लिएका छन्।