• Wednesday, August 6, 2025

नौलिन भद्रकाली जात्रामा ड्रायगनको बृहत् सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम


काठमाडौं । जेठ ०१, 

काठमाडौं बुढानिलकण्ठ- १३ मा वैशाख त्रयोदशी अर्थात् बचलाथ्व त्रयोदशीदेखि  श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रा सुरू हुँदै छ ।  काठमाडौं उपत्यकाको प्राचीन एवं सबैभन्दा पुरानो कालीमन्दिरमध्येको एक मानिने नौलिन (नौलिङ्गेश्वरी) मन्दिरको यो जात्रा पनि प्राचीन जात्रामध्येको एक हो । यही अवसरमा ड्रायगन युवा क्लबद्वारा चौथो बृहत साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम घोषणा गरेको छ। यस कार्यक्रममा स्थानीय कलाकारहरूका साथै राष्ट्रीय कलाकारहरूको प्रस्तुति रहने क्लबका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका यस कार्यक्रम संयोजक रमेश श्रेष्ठ 'प्रवेश' ले जानकारी दिनुभएको छ । 


ड्रायगन युवा क्लब, दुई दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा सामाजिक, धार्मिक, सांस्कृतिक, शिक्षा तथा खेलकुदका कार्यक्रमहरूमार्फत् सकारात्मक रूपान्तरणको लागि तत्पर रही निरन्तर स्थानीयस्तरमा कार्य गर्दै आईरहेको बुढानिलकण्ठ-१३को प्रमुख सामाजिक संस्था हो । समाजमा कला, साहित्य र खेलकुदको माध्यमबाट सामाजिक सद्भाव र एकता कायम गर्ने हेतुले संस्थाले  समयसमयमा फरक-फरक प्रतियोगिता तथा मैत्रीपुर्ण कार्यक्रमहरूको आयोजना एवं त्यस्ता कार्यक्रमहरूमा सक्रिय सहभागिता  जनाउँदै पनि आईरहेको छ । सामाजिक दायित्व र जिम्मेवारीलाई यथोचित बहन गर्दै सदैव बुढानिलकण्ठ-१३को हितका लागि अग्रणी भूमिका निर्वाह गरिरहेको यस संस्थाले सामाजिक, प्राकृतिक,धार्मिक, सांस्कृतिक, शैक्षिक तथा खेलकुदको सहिष्णुतामाथी सदैव सचेत रही आफ्नो कार्यहरू निरन्तर सम्पादन गर्दै आइरहेको छ । 


स्थानीय जात्रा, पर्वहरू समाजको सम्बृद्धिको सुचक हुन्छन् । अत: यिनको महत्त्व पनि अधिक हुन्छन् । यसै क्लबका अध्यक्ष रोहित श्रेष्ठ बताउनुहुन्छ- स्थानीय तथा नेपाली कला, संस्कृति, साहित्य, वाङ्ग्मय, स्वास्थ्य, शिक्षा र खेलकुदको प्रोत्साहन तथा प्रवर्द्धनमा हामी सदैव कटिबद्ध छौँ । अहिले आयोजना गर्न लागेको यो चौथौं बृहत सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम केबल मनोरञ्जनका लागि मात्र नभई स्थानीय जात्राको प्रचार, यहाँका स्थानीय कलाकारहरूको प्रोत्साहन, स्थानीय कला र संस्कृतिको प्रवर्द्धन र सिङ्गो समाजमा एकता र सद्भाव कायम गर्ने सन्देश पनि हो ।


कार्यक्रम २०८१ जेठ १० गते, बुद्ध जयन्तिका दिन बुढानिलकण्ठ-१३, गाम्चा चौरमा मध्याह्न १२:०० बजेदेखी सञ्चालन हुने जानकारी आयोजकले दिएका छन् । यस कार्यक्रममा स्थानीय कलाकारहरू लगायत शान्तिश्री परियार, अस्मिता अधिकारी, प्रीती आले, मेलिना मैनाली, सरोज लामिछाने र कमल खत्री समेतको प्रस्तुती रहनेछ ।


Please Login to comment in the post!

you may also like