• Saturday, June 21, 2025

जासुस व्हेलको शब फेला


रुसको जासुस मानिने सेतो बेलुगा ह्वेल ‘ह्वाल्दिमिर’ को मृत्यु भएको पुष्टि भएको छ । ३१ अगस्टमा नर्वेको रिसाविका खाडीमा माछा समात्न गएका दुई बाबुछोराले ह्वेलको शव तैरिरहेको अवस्थामा फेला पारेका हुन् । १४ फिट लामो यो ह्वेल करिब १५ वर्षको हो । जसको तौल १२२५ किलोग्राम थियो । 

मृत्यु भएको यो ह्वेलको शव क्रेनमार्फत निकालिएको छ । हालसम्म यो ह्वेलको मृत्युको कारण पत्ता लाग्न सकेको छैन । यद्यपि, कुनै ठूलो डुंगाको ठक्करबाट मृत्यु भएको आशंका गरिएको छ । मृतक ह्वेलको शरीरमा कुनै चोटको निशाना भने पाइएको छैन । ह्वेललाई पोस्टमार्टमका लागि पठाइएको छ । सन् २०१९ मा रुसदेखि ४१५ किलोमिटर टाढा नर्वेको इंगोया द्वीपमा देखिएपछि पहिलोपटक यो ह्वेलबारे जानकारी बाहिर आएको थियो । बेलुगा ह्वेल यो क्षेत्रमा पाइँदैन । त्यसैले यसमाथि सुक्ष्म निगरानी राख्न थालिएको थियो । 

ह्वेललाई नजिकबाट हेर्दा एउटा पट्टा देखिएको थियो भने शरीरमा मेसिनसँगै क्यामेरासमेत थियो । यसको शरीरमा रहेको पट्टामा रुसी शहर सेन्ट पिटर्सवर्गको नाम लेखिएको थियो । रुसी नौसेनाले ह्वेललाई समेत तालिम दिन्छ । यसैकारण यो ह्वेललाई रुसको जासुसी ह्वेलका रूपमा लिने गरिन्थ्यो ।पश्चिमा सञ्चारमाध्यमले पनि ह्वाल्दिमिर जनावरलाई जासुस बनाउने रुसी प्रोजेक्टको हिस्सा भएको बताउँदै आएका थिए । यद्यपि, रुसले कहिल्यै पनि पश्चिमा दाबीलाई स्वीकार गरेन । ह्वेललाई नर्वेमा ह्वाल भनिन्छ । त्यसैले ह्वाल र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम मिलाएर यसको नाम ह्वाल्दिमिर जासुस ह्वेल भनिएको हो । 

बेलुगा ह्वेल आम रूपमा चिसो पानी भएको आर्किटिक महासागरमा पाइन्छ । तर, ह्वाल्दिमिर मानिसहरूसँग सहज रूपमा नजिक आउँथ्यो भने मानिससँग डल्फिन जसरी नै खेल्ने गर्दथ्यो । निकै शान्त स्वाभावको ह्वाल्दिमिर पछिल्ला केही वर्षदेखि नर्वेमा तटीय क्षेत्रमा देखिँदै आएको थियो ।मानिससँग नजिक हुन मन पराउने यो ह्वेल हातको इशारामा पनि प्रतिक्रिया दिने गर्दथ्यो । आम रूपमा बेलुगा ह्वेलको औसत उमेर ६० वर्ष मानिन्छ । तर शरीरमा कुनै चोटबिना नै यसको मृत्युको कारण पत्ता लगाउने कोसिस भइरहेको छ । 

Please Login to comment in the post!

you may also like