• Tuesday, March 3, 2026

सात वर्षपछि दूतावास पुनः सञ्चालन गर्ने अमेरिकी दूत भेनेजुएलामा


अमेरिकाको भेनेजुएलाका लागि नयाँ शीर्ष दूत लौरा एफ. डोगु शनिबार क्याराकास पुगेकी छन्। करिब सात वर्षपछि भेनेजुएलामा अमेरिकी दूतावास पुनः सञ्चालन गर्ने ट्रम्प प्रशासनको योजनाअनुसार उनको आगमन भएको हो। क्याराकास पुगेपछि डोगुले सामाजिक सञ्जालमा “म भर्खरै भेनेजुएला आइपुगेकी छु। मेरो टोली र म काम गर्न तयार छौं,” भन्दै विमानबाट ओर्लिएको तस्बिर सार्वजनिक गरेकी थिइन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार डोगुले निजी तथा सार्वजनिक क्षेत्र, साथै नागरिक समाजसँग सहकार्य गर्दै भेनेजुएलाका लागि राष्ट्रपति र विदेश मन्त्रीले अघि सारेको तीन चरणीय योजनालाई अगाडि बढाउनेछिन्। भेनेजुएलाका विदेश मन्त्री इभान गिल पिन्टोले डोगुको आगमनको स्वागत गर्दै अमेरिका–भेनेजुएला सम्बन्ध सुधारका लागि आपसी सम्मान, अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक संवादमार्फत सहकार्य गर्ने बताएका छन्।

डोगु हाल कोलम्बियामा आधारित अमेरिकी भेनेजुएला मामिला इकाइकी चार्जे द’अफेयर्स हुन्। उनको क्याराकास आगमनलाई अमेरिका–भेनेजुएला सम्बन्ध पुनःस्थापनातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। अमेरिकाले सन् २०१९ मा क्याराकासस्थित आफ्नो दूतावास बन्द गर्दै कूटनीतिज्ञ फिर्ता बोलाएको थियो। हालै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले छिट्टै भेनेजुएलामा औपचारिक कूटनीतिक उपस्थिति स्थापना गरिने बताएका थिए।

पूर्व राष्ट्रपति निकोलस मादुरोको सत्ता पतनपछि अमेरिकाले भेनेजुएलामा आफ्नो प्रभाव विस्तार गर्ने प्रयास तीव्र पारेको छ। यसबीच भेनेजुएलाको अन्तरिम सरकारले विदेशी कम्पनीलाई तेल उद्योगमा सहभागी हुन सहज बनाउने कानुनी व्यवस्था गरेको छ भने सयौं राजनीतिक बन्दी रिहा हुन सक्ने आममाफी कानुनको प्रस्तावसमेत अघि सारेको छ। अमेरिकाले पनि भेनेजुएलामा थुनिएका सबै अमेरिकी नागरिक रिहा भएको जनाएको छ।

Please Login to comment in the post!

you may also like