बेइजिङ- चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई भ्रष्टाचारको अभियोगमा आइतबार मृत्युदण्डको सजाय सुनाइएको छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुसस्वरूप लिएका थिए।अदालतले ताङलाई दुई वर्षको समयावधि प्रदान गरेको छ, तर उनको सम्पूर्ण सम्पत्ति जफत गरिने र घुसमार्फत संकलन गरिएको सम्पत्ति राष्ट्रकोषमा जम्मा गरिने फैसला भएको छ। साथै, उनलाई राजनीतिक अधिकारहरूबाट पनि वञ्चित गरिएको छ। अदालतले यो घुसप्रकरणले देश र जनताको हितमा ठूलो क्षति पुर्याएको कारण मृत्युदण्डको सजाय सुनाएको जनाएको छ।
सिन्ह्वाका अनुसार, ताङले आफ्ना अपराध स्वीकार गर्दै पश्चाताप व्यक्त गरेका छन्। यो सजायलाई राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरुद्धको अभियानको हिस्सा मानिएको छ, जसअन्तर्गत हालसम्म धेरै उच्चपदस्थ नेताहरूलाई सजाय भइसकेको छ। समर्थकहरूले यो अभियानले स्वच्छ शासनलाई प्रोत्साहन गर्ने दाबी गरेका छन्। यद्यपि, आलोचकहरूले यसलाई राष्ट्रपति सीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने हतियारका रूपमा प्रयोग गरेको आरोप लगाएका छन्।ताङ यसअघि गान्सु प्रान्तका गभर्नर र ग्वाङ्सी स्वायत्त क्षेत्रका उपाध्यक्षको जिम्मेवारीमा रहिसकेका छन्। उनको सजायपछि पूर्व रक्षा मन्त्रीहरू ली शाङफु र वेई फेङहे पनि भ्रष्टाचार अनुसन्धानको दायरामा परेका छन्।यो घटनाले चीनको भ्रष्टाचारविरुद्धको अभियान र यसको राजनीतिक प्रभावबारे थप बहस सिर्जना गरेको छ।