काठमाडौं । अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भीषण भूकम्पमा मृत्यु हुनेको संख्या ६१० पुगेको छ भने १,३०० भन्दा बढी घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार, आइतबार राति ११:४७ बजे नान्गारहार र कुनार प्रान्त केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको गहिराइ ८ किलोमिटर मापन गरिएको छ ।
भूकम्पपछि ४.५ देखि ५.२ म्याग्निच्युडका कम्तीमा तीन परकम्प अनुभव गरिएको छ । धक्का राजधानी काबुल र पाकिस्तानको इस्लामाबादसम्म महसुस गरिएको एजेन्सी एएफपीले जनाएको छ ।
सबैभन्दा बढी क्षति कुनार प्रान्तमा भएको बताइएको छ, जहाँ करिब ९० प्रतिशत भूभाग पहाडी छ । प्रभावित क्षेत्रमा पुग्ने सडकहरू साँघुरा छन् र धेरै ठाउँमा पहिरोका कारण बन्द भएका छन् ।
तालिबान प्रशासनले सीमित स्रोतसाधनका कारण कठिनाइ भएको भन्दै अन्तर्राष्ट्रिय संस्थाहरूसँग हेलिकप्टर र आपतकालीन सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।