नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रबन्धक बिनेश मुनकर्मीविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार मुनकर्मीको नाममा ६ करोड २४ लाख रुपैयाँ बराबरको सम्पत्ति फेला परेको छ, जसमध्ये २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ स्रोत नखुलेको गैरकानुनी सम्पत्ति रहेको ठहर गर्दै सोही बराबरको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो । अख्तियारले भ्रष्टाचारबाट आर्जन भएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती पूर्णकुमारी गोसाईंविरुद्धसमेत मुद्दा दायर गरेको जनाएको छ । मुनकर्मी पछिल्लो समय पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुखका रूपमा कार्यरत थिए । आयोगको अभियोगपत्रमा उनी सार्वजनिक पदमा रहँदा आय–व्ययको तुलनामा अस्वाभाविक रूपमा सम्पत्ति वृद्धि भएको र वैध स्रोत पुष्टि हुन नसकेको उल्लेख छ ।
रोचक पक्ष के छ भने मुनकर्मी यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिक उत्सवका अवसरमा उत्कृष्ट कार्य गरेको भन्दै करिब दुई वर्षअगाडि मात्र पुरस्कृत कर्मचारीसमेत थिए । त्यसयता उनी महत्वपूर्ण आयोजना र जिम्मेवारीमा निरन्तर देखिनु, तर अहिले आएर अकुत सम्पत्ति प्रकरणमा तानिनु सार्वजनिक संस्थाभित्रको सुशासन र आन्तरिक नियन्त्रण प्रणालीमाथि गम्भीर प्रश्नका रूपमा हेरिएको छ । स्रोतहरूका अनुसार क्यानभित्र निर्णय प्रक्रियामा सीमित व्यक्तिहरूको प्रभाव अत्यधिक बढ्दै गएको, नियुक्ति र परियोजना व्यवस्थापनमा पारदर्शिता कमजोर हुँदै गएको अवस्थालाई यस प्रकरणले झनै उजागर गरेको छ । क्यान ‘कब्जा’को अवस्थातर्फ उन्मुख भइरहेको जस्तो देखिएको र संस्थागत स्रोतमाथि निश्चित समूहको नियन्त्रण बढेको भन्ने आरोपहरू पछिल्लो समय बारम्बार उठ्दै आएका छन् । अख्तियारको मुद्दालाई धेरैले त्यसैको परिणामका रूपमा पनि व्याख्या गरेका छन् । आयोगले अदालतमार्फत कानुनी प्रक्रिया अघि बढिसकेको बताउँदै अनुसन्धानका क्रममा भेटिएका सम्पत्तिको विवरण, आय–व्यय विश्लेषण र प्रमाणका आधारमा दोषी ठहर भएमा कडा सजाय र सम्पत्ति जफत गरिने जनाएको छ । यस घटनाले क्यान जस्तो संवेदनशील र राष्ट्रिय महत्वको संस्थामा कार्यरत कर्मचारीहरूको उत्तरदायित्व, पारदर्शिता र जवाफदेहितामाथि पुनः बहस सुरु गराएको छ ।