• Tuesday, March 3, 2026

नेपालमा परराष्ट्र सेवामा महिला नेतृत्व: चुनौतीदेखि सफलता र विश्व प्रतिनिधित्वसम्म


नेपालको परराष्ट्र सेवामा पछिल्ला वर्षहरूमा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको छ । कहिल्यै पुरुषप्रधान मानिएको कूटनीतिक क्षेत्रमा अहिले महिलाहरू निर्णायक भूमिकामा देखिन थालेका छन् । निजी क्षेत्रको आकर्षक आम्दानी, विदेशमा सुरक्षित करिअर र अन्य विकल्प हुँदाहुँदै पनि देशको प्रतिनिधित्व गर्ने अभिलाषाले महिलाहरू परराष्ट्र सेवातर्फ आकर्षित भइरहेका छन् । यसले न केवल महिला सशक्तीकरणको संकेत गर्छ, कूटनीतिक सेवामा नयाँ दृष्टिकोण र संवेदनशीलता थपिएको अनुभूति पनि गराएको छ ।

ललितपुरकी अस्मिता सेढाईं यसको ज्वलन्त उदाहरण हुन् । भारतस्थित इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी अध्ययन पूरा गरेकी अस्मिताले अध्ययनपछि भारतमै निजी कम्पनीमा काम गरिन् । सीएको जागिर आम्दानी र अवसरका हिसाबले आकर्षक मानिए पनि निजी कम्पनीको व्यस्तता र असुरक्षित भविष्यले उनलाई सन्तुष्ट बनाउन सकेन । नेपाल फर्किएपछि उनले सरकारी सेवातर्फ ध्यान मोडिन् । परिवारका अधिकांश सदस्य सरकारी सेवामै रहेकाले यो क्षेत्र उनका लागि नयाँ थिएन ।सुरुमा राजस्व अधिकृतको तयारी गरिरहेकी अस्मिताको ध्यान परराष्ट्र अधिकृतको विज्ञापन खुलेपछि त्यतै तानियो । परीक्षा तालिका केही पर भएकाले तयारीका लागि समय पनि पर्याप्त पाइन् । पाँच वर्षको बच्चा हुर्काउँदै अध्ययन पूरा गर्नु उनका लागि चुनौतीपूर्ण थियो । तर अंग्रेजी र सामान्य ज्ञान बलियो पक्ष भएकाले छोटो समयमै सफलता हात पारिन् । गत पुस २३ गते परराष्ट्र अधिकृतमा नियुक्त भएकी उनी हाल मन्त्रालयको युरोप डिभिजनमा कार्यरत छन् । युरोपस्थित नेपालीसँग सम्बन्धित समस्या समाधान, राजदूतसँग समन्वय र द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने जिम्मेवारी सम्हालिरहेकी उनी परराष्ट्र सेवालाई दुई देशबीचको प्रभावकारी मध्यस्थकर्ताको रूपमा बुझ्छिन् ।

यसैगरी, प्रसिद्धि कोइरालाले बीएलएलबी अध्ययन सक्नासाथ परराष्ट्र सेवामा प्रवेश गर्ने लक्ष्यसहित तयारी थालिन् । कानुनकी विद्यार्थी भएकाले अन्तर्राष्ट्रिय कानुन र परराष्ट्र सम्बन्धलाई नजिकबाट बुझ्ने चाहना उनको थियो । पहिलो प्रयासमै खुल्लातर्फबाट परराष्ट्र अधिकृतमा सिफारिस हुनु उनको अनुशासित र निरन्तर अध्ययनको परिणाम हो । कुनै इन्स्टिच्युट नधाई घरमै बसेर तयारी गरेकी प्रसिद्धि हाल परराष्ट्र मन्त्रालयको पब्लिक डिप्लोमेसीअन्तर्गत ‘कल्चरल डिप्लोमेसी’मा कार्यरत छन् । नेपाललाई विश्वसामु चिनाउने अवसर पाउनु उनको लागि गर्वको विषय बनेको छ ।परराष्ट्र सेवामा महिला नेतृत्वको सशक्त उदाहरणका रूपमा दुरपदा सापकोटालाई लिन सकिन्छ । हालै बढुवा भएर सहसचिव बनेकी उनी कन्सुलर विभागकी पहिलो महिला महानिर्देशक हुन् । विदेशी रोजगारीमा गएका नेपालीका समस्या, उद्धार, कागजात प्रमाणीकरण जस्ता संवेदनशील जिम्मेवारी सम्हाल्दै आएकी उनी सेवाग्राहीको अत्यधिक चापका बाबजुद सेवा सहज बनाउने प्रयासमा छन् । दिल्ली, मलेसिया र अस्ट्रेलियामा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हाल्दा उनले फरक भूगोल र संस्कृतिमा काम गर्ने चुनौती नजिकबाट अनुभूत गरिन् । मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपालीका पीडाले उनको जीवन दृष्टिकोण नै परिवर्तन गरेको उनी बताउँछिन् ।

पछिल्लो पुस्ताकी सुजना अर्याल पनि परराष्ट्र सेवामा सक्रिय रूपमा योगदान दिइरहेकी छन् । २०७६ सालबाट परराष्ट्र अधिकृतका रूपमा करिअर सुरु गरेकी उनी हाल कन्सुलर विभागमा निर्देशकका रूपमा कार्यरत छन् । बहराइनमा दुई वर्ष सेवा गर्दा मुस्लिम समाजमा महिलाका लागि काम गर्नुपर्ने चुनौती झेलेकी उनी अहिले आफूलाई अझ परिपक्व र सक्षम महसुस गर्छिन् । महिलाको उपस्थिति बढे पनि अझै आफू सक्षम छौँ भनेर प्रमाणित गर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ ।लोक सेवा आयोगको तथ्यांकअनुसार यस वर्ष अधिकृत तहमा सिफारिस भएका ६७ जनामध्ये २७ जना महिला छन् । २०७५/७६ मा परराष्ट्र सेवामा महिलाको संख्या ५७ मात्र रहेकामा अहिले यो संख्या एक सय पुगेको छ । सहसचिवदेखि नायब सुब्बासम्म महिलाहरू विभिन्न तहमा कार्यरत छन् । यो वृद्धिले परराष्ट्र सेवामा समावेशिता र सन्तुलनको संकेत दिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार महिलाको नरमता, संवेदनशीलता र सहानुभूतिपूर्ण व्यवहारले कूटनीतिक सेवाप्रवाहलाई अझ प्रभावकारी बनाएको छ । पूर्वपरराष्ट्र सचिव तथा मुख्य सचिव शंकरदास बैरागीका अनुसार महिलाहरू अनुशासित, जिम्मेवार र कर्तव्यनिष्ठ हुने भएकाले परराष्ट्र सेवामा उनीहरूको योगदान प्रशंसनीय छ । विशेषगरी महिला, बालबालिका र मानवअधिकारजस्ता संवेदनशील विषयमा महिलाहरू बढी प्रभावकारी देखिएका छन् ।परराष्ट्र सेवामा महिलाको बढ्दो सहभागिताले केवल संख्यात्मक वृद्धि मात्र होइन, कूटनीतिक सोच र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याएको देखिन्छ । यही गतिमा अघि बढ्ने हो भने आगामी वर्षहरूमा महिला नेतृत्व उच्च तहमा पुग्ने विश्वास गरिएको छ । यसले नेपालको अन्तर्राष्ट्रिय छविलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Please Login to comment in the post!

you may also like