अमेरिकाको हवाई ट्राफिक नियन्त्रण (एटीसी) प्रणाली टुटफुट भएको बारेमा लगभग सबै सहमत छन् । लामो समयदेखिको कर्मचारी अभाव, पुरानो प्रविधि र अब हवाई ट्राफिक नियन्त्रकहरू राजनीतिक खिचातानीको बीचमा परेका छन् जसको उनीहरूको सञ्चालनसँग कुनै सरोकार छैन ।
सरकारी शटडाउनका कारण नियन्त्रकहरू तलब नपाई छ दिनसम्म काम गर्न बाध्य भएका छन् । यसले कर्मचारी संकटलाई झन् खराब बनाएको छ, कुनै कुनै विमानस्थलका नियन्त्रण टावरमा कहिलेकाहीँ कुनै पनि नियन्त्रक नहुने अवस्था सिर्जना भएको छ ।
यो संकट र शटडाउनका कारण संघीय उड्डयन प्रशासन (एफएए) ले देशका ४० ठूला विमानस्थलमा उडान सीमित गरेको छ, जसले दैनिक सयौं उडान रद्द हुनुका साथै देशभरि अवरोध उत्पन्न भएको छ ।
तत्कालै उपाय छैन । तर केही विज्ञहरूका अनुसार निजीकरण वा छुट्टै सरकारी निगम स्थापना गरेर छोटो समयमै परिवर्तन ल्याउन सकिन्छ ।
निजीकरणका पक्षधरहरूले यो संकटले सुधारको अवसर खोलेको बताएका छन् । रिजन फाउन्डेशनका यातायात नीति निर्देशक रोबर्ट पूल भन्छन्, “यो विषयलाई गम्भीरतापूर्वक हेर्ने झ्याल खोलेको छ ।”
क्यानडामा सन् १९९५ मा जस्तै गैरनाफामूलक स्वतन्त्र निगम वा छुट्टै सरकारी निगम बनाएर एटीसी सञ्चालन गर्नुपर्ने उनीहरूको तर्क छ । यसले प्रणालीलाई आधुनिकीकरण र कर्मचारी भर्नाका लागि आवश्यक स्रोत उपलब्ध गराउँछ । एफएएभित्र राख्दा दुवै काममा बाधा पुग्छ भन्ने उनीहरूको भनाइ छ ।
एम्ब्री-रिडल एरोनटिकल विश्वविद्यालयका प्राध्यापक माइकल म्याककर्मिक भन्छन्, “वार्षिक बजेटमा बाँधिएका कारण स्थिर कोष प्राप्त हुँदैन र पूँजीगत लगानीको योजना बनाउन सकिँदैन ।” निजीकरणले पूर्वाधार विकासको राम्रो योजना बनाउन सकिने उनको भनाइ छ । सुरक्षा भन्दा नाफालाई प्राथमिकता दिने नाफामूलक मोडेल नभएको पनि उनले स्पष्ट पारे ।
यद्यपि यातायात सचिव सिन डफीले निजीकरणलाई अस्वीकार गरेका छन् । उनले यसलाई अन्य समयको लागि छोड्नुपर्ने बताएका छन् ।
सन् २०१७-१८ को निजीकरण प्रयासमा एयरलाइन्स उद्योग र नियन्त्रकहरूको युनियन दुवैको समर्थन थियो । तर निजी विमान मालिक र व्यवसायिक जेट सञ्चालकहरूले साना विमानस्थलमा शुल्क बढ्ने डरले विधेयक असफल बनाए ।
ती समूहहरू अझै विरोधमा छन् । एयरक्राफ्ट ओनर्स एन्ड पाइलट्स एसोसिएसनका जिम कुन भन्छन्, “हामीसँग विश्वकै सबैभन्दा ठूलो, जटिल र सुरक्षित प्रणाली छ । निजीकरणले साना समुदायका विमानस्थललाई हानि पुर्याउँछ ।”
नियन्त्रक युनियन र एयरलाइन्स फर अमेरिकाले निजीकरणबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गरे । ट्रम्पको नीतिगत विधेयकले १२.५ बिलियन डलर आधुनिकीकरण कोष विनियोजन गरेको छ । कुनले यसलाई सबैलाई एकजुट पारेर प्रणाली छिट्टै आधुनिक बनाउने अवसर भनेका छन् ।
अब प्रश्न उठ्छ : निजीकरणले वास्तवमै अमेरिकी हवाई यातायातलाई सुरक्षित र प्रभावकारी बनाउला ? वा यो फेरि राजनीतिक र स्वार्थ समूहको खेल मै सीमित हुनेछ ?