वर्षाका कारण कर्णालीका सबै हिमाली जिल्लामा हवाइ सेवा ठप्प भएको छ भने कर्णाली, मध्यपहाडी, मदन भण्डारी र राप्ती राजमार्ग तथा भेरी र कर्णाली करिडोर अवरुद्ध भएका छन् ।
अविरल वर्षाका कारण कर्णाली राजमार्गमा ११, मध्यपहाडीमा १० र राप्ती राजमार्गमा ९, कर्णाली करिडोरमा १३ र भेरी करिडोरमा १७ ठाउॅमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वर्षा शनिबार अबेरसम्म जारी रहेका कारण राजमार्गहरु खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण मंगलबारदेखि कर्णालीका हिमाली जिल्लाका सबै विमानस्थल ठप्प छन् । मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन नसकेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले नेपालगन्ज र सुर्खेतबाट हुने सबै हवाइ उडान रोकिएको रारा विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले बताए । ‘दैनिक ५ वटासम्म उडान हुन्थे, तर उडान रोकिएपछि बिरामी र जरुरी कामका लागि बाहिर जानेहरु अलपत्र परेका छन्,’ उनले भने, ‘कर्णाली राजमार्ग पनि अवरुद्ध भएपछि स्थानीयलाई थप सास्ती भएको छ ।’ उनका अनुसार हुम्ला र मुगुमा नेपालगन्ज र सुर्खेतबाट तारा, समिट र सिता एयरलाइन्सले उडान भर्दै आएका छन् ।
वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत दैलेख—कालीकोट खण्डको दहीखोला, गगनेखोला, कालाखोला, हुल्मलगायत ठाउॅमा पहिरो गएको छ । त्यस्तै राप्ती राजमार्गको चोरखोला, अरिंगालेफेदी, सिमखोलीलगायत ठाउॅमा पहिरो खसेको छ । जसका कारण विभिन्न राजमार्गमा मात्रै झण्डै दुई सय सवारी साधन बीच बाटोमै रोकिएको प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी अर्जुनबहादुर चन्दले बताए । उनका अनुसार अविरल वर्षाका कारण मानवीय क्षति नभए पनि झण्डै १ घर बाढीपहिरोको उच्च जोखिममा छन् । जोखिममा रहेका परिवारलाई अन्यत्र स्थानान्तरण गर्न थालिएको उनले जानकारी दिए ।
वर्षापछि जाजरकोट र रुकुम पश्चिममा अस्थथायी टहरामा बस्दै आएका भूकम्पपीडितको बेहाल छ । ‘टहराभरि पानी चुहिएको छ, यहाॅ त बस्नै समस्या भयो,’ जाजरकोटको भेरी नगरपालिका—१ का लालबहादुर महरले भने, ‘त्यसैले चर्किएको घरमा फेरि फर्कनुपर्यो, घरमा पनि भित्ताहरु चर्किएकै ठाउॅमा पानी परेर रसाउन थालेको छ, कुन दिन भत्किने हो भन्ने चिन्तै चिन्तामा बस्नुपरेको छ,’ नलगाड नगरपालिका —४ का हस्तबहादुर विकले टहरामा पानी चुहिएरै सुत्नै नसकिने अवस्था आएको बताए । ‘पुराना त्रिपाल टहराको छानामा टाॅग्दा पनि पानीबाट ओतिन सकेनौ,’ उनले भने, ‘टहरा वरिपरिको जमिन भूकम्पले चिरैचिरा पारेको छ, अझै २/३ दिन लगातार वर्षा भए कुन दिन पहिरोले टहरा बगाउने हो भन्ने चिन्ताले रातदिन सताउछ ।’ रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–१४ की कृष्णा विकले अस्थायी टहरोको टिनबाट पानी भित्र परेर कपडा र अन्नपात मुस्किल भएको बताइन् ।