• Saturday, June 21, 2025

बाढिले बिध्युत गृह मा क्षती पुराउदा बिध्युत उत्पादन घट्यो


 

अधिकांश नदी प्रवाहमा आधारित रहेको नेपालको जलविद्युत् आयोजनाबाट असारदेखि असोज–कात्तिकसम्म पूर्ण जडित क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ । हिउँदमा खोलामा पानी कम हुँदा क्षमताको ३० प्रतिशतसम्म मात्रै विद्युत् उत्पादन हुन्छ । तर, वर्षामा आउने बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजना बन्द गर्नुपुर्ने बाध्यता बर्सेनि खेप्नुपरेको छ । शुक्रबारदेखि भएको निरन्तर झरीले विभिन्न परियोजनाहरू पूर्ण तथा आंशिक रूपमा बन्द हुँदा करिब ११ सय मेगावाट विद्युत् उत्पादन घटेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । बाढीबाट हुन सक्ने थप क्षति न्यूनीकरण हुन नदिन कतिपयले परियोजना बन्द गरिएको हुँदा यस्तो आएको उनको भनाइ छ ।

शनिबार नेपालको सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना बाढीकै कारण बन्द गर्नुपर्‍यो । शनिबार बिहान १:४३ बजेदेखि तामाकोशी जलविद्युत् परियोजना पूर्ण रूपमा बन्द भएको छ । यस्तै, प्राधिकरणकै ६० मेगावाटका अप्पर त्रिशुली थ्री–१ बिहान ४:१० बजे र १० मेगावाटको सुनकोशी जलविद्युत् परियोजना बिहान ८:४६ बजेटबाट बन्द अवस्थामा छन् । 

यस्तै, निजी क्षेत्रका ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलिया पनि बन्द भएको प्राधिकरणले बताएको छ । बागलुङको जैमिनी नगरपालिकामा रहेको १.५ मेगावाट ठेउले खोला जलविद्युत् आयोजनाको बाँध पहिरोले पुरिएको छ । २२ मेगावाटको बागमती नादी जलविद्युत् परियोजना पनि बाढीका कारण बन्द भएको छ । 

यस्तै, अन्य थुप्रै परियोजना बाढीका कारण जडितभन्दा कम क्षमतामा सञ्चालन गर्न बाध्य भएका छन् । अहिले खोलामा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न पुग्ने पानी भए पनि बाढीले गर्दा थुपै आयोजना कम क्षमतामा चलेका छन् । शनिबार ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् परियोजनाबाट ५० मेगावाट मात्रै उत्पादन भएको प्राधिकरणको भनाइ छ ।

यसैगरी ७७ मेगावाटको लिखु–१ बाट ४७ मेगावाट, ५५ मेगावाटको लिखु–२ बाट २९ मेगावाट, ७३ मेगावाटको मध्य तमोरबाट ३८ मेगावाट, एक सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’बाट ७० मेगावाट, १४ मेगावाटको मोदी जलविद्युत् परियोजनाट ७ मेगावाट, २१ मेगावाटको त्रिशूली जलविद्युत् परियोजनाबाट ६ मेगावाट, १४.१ मेगावाटको देवीघाट जलविद्युत् परियोजनाबाट ५ मेगावाट र ३० मेगावाटको चमेलिया जलविद्युत् परियोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन भएको प्राधिकरणको भनाइ छ । 

नेपालमा विद्युत्को जडित क्षमता झन्डै ३२ सय मेगावाट छ । हिउँदमा घटेको विद्युत् उत्पादन बर्खा सुरु भएसँगै २३–२४ सय मेगावाटसम्म पुगेको थियो । तर, शनिबारको बाढीले परियोजना बन्द भएपछि उत्पादन १३ सय मेगावाट हाराहारीमा सीमित भएको छ । बर्खाका कारण विद्युत्को माग पनि घट्दा उत्पादन र आपूर्ति सन्तुलनमा रहेको उनले बताए । 

‘कतिपय ठाउँमा विद्युत् अवरुद्ध हुँदा पनि उत्पादन र माग सन्तुलनमा आएको हुन सक्छ । साथै, झरी भएपछि विद्युत्को माग कम हुन्छ । त्यसले गर्दा उत्पादन माग धान्न सहज नै भएको छ,’ उनले बताए । 

बाढी आउँदा खोलामा माटो–ढुंगासहितको पानी आउँछ । त्यस्तो पानी छिरेमा टर्बाइन बिग्रने समस्या हुन्छ । त्यो अवस्थामा थप क्षति हुन नदिन आयोजना बन्द गरेको हुन सक्ने प्राधिकरणको भनाइ छ । कतिपय परियोजनामा भने खोलामा पानीको बहाब बढ्दा टेलेरेस (विद्युत्गृहबाट पानी निस्कने संरचना)बाट उल्टै खोलाको पानी टर्बाइनतिर आउने समस्या हुन्छ । त्यस्तो हुन पनि नदिन परियोजना बन्द गर्ने गरेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका प्रवक्ता घोषले यो क्षणिक समस्या भएको बताए । झरीले बन्द भएका परियोजना एक–दुई दिनमै पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने उनको भनाइ छ । ‘अहिले पहिला नै सचेत भएर कम्पनीहरूले आयोजना बन्द गरेका हुन् । यो समस्या क्षणिक हो । बाढीले क्षति नै पुर्‍याएका परियोजना सञ्चालनमा आउन केही समय लाग्छ । तर, शनिबारको बाढीले परियोजनामा क्षति पुर्‍याएको छैन,’ उनले भने, ‘खोलाको बाढी घटेमा परियोजना सञ्चालनमा आउँछ ।’ उनका अनुसार शनिबार राति वा आइतबारदेखि अप्पर तामाकोशी जलविद्युत् परियोजना सञ्चालन गर्ने गरी काम भइरहेको छ । 

इन्जिनियर सूर्य अधिकारीले आयोजना बन्द हुनुलाई नकारात्मक रूपमा हेर्न नहुने बताउँछन् । थप क्षति हुन नदिन पावर प्लान्ट बन्द गर्नुपर्ने  उनको भनाइ छ । ‘यसलाई नकारात्मक रूपमा मात्रै नहेरौँ, यो थप क्षति हुनबाट बचाउने उपाय पनि हो,’ उनले बताए ।

Please Login to comment in the post!

you may also like