काठमाडौ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच सोमबार पेरिसमा भएको संयुक्त पत्रकार सम्मेलनमार्फत दुबै देशबीच १० वर्षे रणनीतिक सुरक्षा सम्झौता गर्ने सहमति भएको छ। यो सम्झौता आगामी वर्षदेखि प्रभावकारी हुने बताइएको छ।
राष्ट्रपति जेलेन्स्कीले फ्रान्सबाट “अत्यन्त शक्तिशाली रडार”, आठवटा अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली तथा अन्य उन्नत हतियारहरू प्राप्त हुने जानकारी दिए। उनले भने, “यस्ता उन्नत प्रणालीहरूको प्रयोग भनेको कसैको जीवन बचाउनु हो… यो निकै महत्वपूर्ण छ।”
पछिल्ला महिनाहरूमा रुसले युक्रेनका ऊर्जा तथा रेल पूर्वाधारमाथि ड्रोन र मिसाइल आक्रमण तीव्र पारेको छ। ती आक्रमणका कारण देशभर ठूलो मात्रामा विद्युत् अवरुद्ध भएको छ। पश्चिमी मुलुक र किभले यी मिसाइल आक्रमणलाई युद्ध अपराधका रूपमा वर्णन गर्दै आएका छन्।
हालैको रात्रीकालीन रूसी मिसाइल आक्रमणमा खार्किभ प्रदेशको बालाक्लियामा तीन जनाको मृत्यु र १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति म्याक्रोनले युक्रेनलाई १०० वटा ‘राफाल’ फाइटर जेट उपलब्ध गराउने योजना रहेको बताए। “युक्रेनी सेनाको पुनर्जीवनका लागि यही आवश्यक छ,” उनले भने।
युक्रेनको वायुसेना फ्रान्सका मिराज लडाकु विमान तथा अमेरिकी F-16 समेत प्रयोग गरिरहेको छ। युक्रेनले हालै स्विडेनका ग्रिपेन जेट प्राप्त गर्ने provisional सहमति पनि गरेको छ।
फ्रान्स भ्रमणपछि जेलेन्स्की थप सैन्य तथा आर्थिक सहयोगका लागि स्पेन जाने कार्यक्रम छ। यसअघि उनले ग्रीससँग ग्याँस आपूर्ति सम्बन्धी सम्झौता गरेका थिए। यसैसँगै अमेरिकी LNG (Liquefied Natural Gas) पनि बाल्कनमार्ग हुँदै यसै जाडोदेखि युक्रेन पुग्ने अपेक्षा गरिएको छ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ फेब्रुअरीमा युक्रेनमा पूर्ण–स्तरीय आक्रमण सुरु गरेका थिए। हाल रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिएको अवस्था छ भने लामो युद्ध फ्रन्टमा बिस्तारै अगाडि बढिरहेको छ।