• Monday, August 24, 2026

,नियामकलाई अंकुश, सहायकसम्मलाई ‘ए–एल’ पासः विमानस्थल सुरक्षामाथि कसको दादागिरी?



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्र प्रवेश पास वितरणमा गम्भीर प्रश्न उठेको छ। प्राप्त कागजातमा निर्देशकदेखि सहायक तहसम्मका कर्मचारीलाई ‘ए’देखि ‘एल’सम्मका १२ वटै संवेदनशील क्षेत्रमा प्रवेश गर्न मिल्ने गरी पास सिफारिस गरिएको देखिन्छ।तर विमानस्थलको सुरक्षा तथा उड्डयन नियमनको प्रत्यक्ष निरीक्षण गर्ने नियामक निरीक्षकलाई भने आवश्यक क्षेत्रअनुसार सीमित पहुँच दिने अभ्यास देखिएको छ। जसले नियमन गर्नेलाई अंकुश र प्रशासनिक तहलाई खुला पहुँच दिने व्यवस्था किन र कसरी बन्यो भन्ने प्रश्न जन्माएको छ।

विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले समेत कामको आवश्यकताअनुसार सामान्यतः एउटा, दुई वा बढीमा तीन क्षेत्रसम्म मात्र प्रवेश पास दिनुपर्ने बताएका छन्। त्यसो भए सहायक तहसम्मका कर्मचारीलाई १२ वटै क्षेत्रमा प्रवेश आवश्यक पर्ने कार्यगत आधार के हो?यो प्रश्न अझ गम्भीर छ, किनकि सरकारी अध्ययनपछि विमानस्थलमा सक्रिय रहेका ४ हजार ७२ वटा निषेधित क्षेत्र प्रवेश पास निष्क्रिय गर्न निर्देशन दिइएको थियो। सरुवा, बढुवा तथा अवकाशपछि समेत पास सक्रिय रहेको भेटिनुले पास व्यवस्थापनमा रहेको कमजोरी उजागर गरिसकेको छ।

यस्तो अवस्थामा पुनः व्यापक क्षेत्र समेटेर पास सिफारिस गरिएको हो भने सम्बन्धित निकायले यसको जवाफ दिनैपर्छ। प्रत्येक पासको आधार पद होइन, वास्तविक कार्यआवश्यकता र सुरक्षा मूल्याङ्कन हुनुपर्छ।

विमानस्थलको निषेधित क्षेत्र कुनै प्रशासनिक पहुँचको परिचयपत्र होइन। यदि नियामक निरीक्षकलाई आवश्यक क्षेत्रमा पुग्न रोक्ने र अन्य कर्मचारीलाई ‘ए–एल’ सम्म खुला गर्ने अभ्यास पुष्टि भयो भने यो सामान्य प्रशासनिक त्रुटि नभई विमानस्थल सुरक्षा र नियामकीय प्रभावकारितामाथिकै गम्भीर खेलाँची बन्न सक्छ।

Please Login to comment in the post!

you may also like