• Friday, April 10, 2026

सस्तो ड्रोनले हवाई युद्धको स्वरूप परिवर्तन गर्दै



मध्यपूर्वमा जारी द्वन्द्वका बीच सस्तो आक्रमणकारी ड्रोनहरूले हवाई युद्धको स्वरूप नै परिवर्तन गर्न थालेका छन्। विगतमा हवाई वर्चस्व मुख्यतया धनी राष्ट्रहरूको हातमा थियो, जसले महँगा लडाकु विमान र उच्चस्तरीय तालिममा ठूलो लगानी गर्न सक्थे। तर अहिले सस्तो ड्रोनको प्रयोग बढेसँगै साना तथा कम स्रोत भएका देशहरूले पनि ठूलो क्षति पुर्‍याउने क्षमता हासिल गर्न थालेका छन्।

संयुक्त राज्य अमेरिकाले भने लामो समयदेखि आफ्नो विशाल सैन्य बजेटको आधारमा विश्वकै महँगा र उन्नत विमानहरू प्रयोग गर्दै आएको छ। इरानमा सञ्चालन गरिएको “अपरेशन एपिक फ्युरी” अन्तर्गत अमेरिकाले विभिन्न प्रकारका लडाकु विमानहरू परिचालन गरेको जनाएको छ। तीमध्ये एफ–१५, एफ–३५, एफ–२२, एफ–१६, ए–१०, बी–२ स्टेल्थ बमवर्षक, बी–१ बमवर्षक, एफ/ए–१८, पी–८ए पोसाइडन लगायतका उन्नत विमानहरू रहेका छन्। साथै, हवाई निगरानी, इन्धन भर्ने र सूचना सङ्कलनका लागि विशेष विमानहरू पनि प्रयोगमा ल्याइएका छन्।मानवरहित प्रणालीतर्फ, अमेरिकाले एमक्यू–९ रिपर ड्रोन प्रयोग गरिरहेको छ, जसलाई जमिनबाट नै सञ्चालन गर्न सकिन्छ। यसका साथै पहिलो पटक कम लागतमा तयार गरिएको एलयूसीएएस (लो–कस्ट अनक्रुड कम्ब्याट एट्याक सिस्टम) नामक एकतर्फी आक्रमण गर्ने ड्रोन पनि प्रयोगमा ल्याइएको छ। यो ड्रोन इरानको शाहेद–१३६ ड्रोनसँग मिल्दोजुल्दो रहेको बताइएको छ।

इरानले भने विगत केही वर्षदेखि आफ्ना सहयोगी समूहहरूलाई ड्रोन उत्पादन र आपूर्तिमा लगानी गर्दै आएको छ। हालको युद्धमा उसले ठूलो संख्यामा ड्रोन प्रयोग गरिरहेको छ। फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि इरानले इजरायल र खाडी क्षेत्रका देशहरूतर्फ सयौं मिसाइल र हजारभन्दा बढी ड्रोन प्रहार गरिसकेको छ। इरानको रणनीति सटीक प्रहारभन्दा पनि ठूलो सङ्ख्यामा ड्रोन एकैपटक प्रक्षेपण गरेर प्रतिरक्षा प्रणालीलाई थाकाउने रहेको छ।यी ड्रोनहरूको लागत भने निकै कम हुन्छ। एक शाहेद ड्रोन बनाउन करिब २० हजारदेखि ५० हजार अमेरिकी डलरसम्म लाग्ने अनुमान गरिएको छ। तुलना गर्दा, एउटा प्याट्रियट मिसाइल अवरोधकको मूल्य करिब ४० लाख डलर हुन्छ। अर्थात् एउटै मिसाइलको लागतमा करिब १०० भन्दा बढी ड्रोन उत्पादन गर्न सकिन्छ।

यही असन्तुलनले अहिले रणनीतिक चुनौती सिर्जना गरेको छ। आक्रमण सस्तो बन्दै गइरहेको छ भने रक्षा अत्यन्त महँगो हुँदै गएको छ। कतिपय अवस्थामा लाखौं डलर पर्ने मिसाइल प्रयोग गरेर केही हजार डलरका ड्रोन खसाल्नुपरेको अवस्था छ, जुन दीर्घकालीन रूपमा टिकाउ नहुने विज्ञहरू बताउँछन्।अमेरिकी रक्षा विभागका अधिकारी बिल लाप्लान्तेले समेत यस अवस्थाबारे चिन्ता व्यक्त गर्दै भनेका छन्, “यदि हामी ५० हजार डलरको ड्रोन खसाल्न ३० लाख डलर खर्च गरिरहेका छौं भने यो राम्रो सन्तुलन होइन।”समुद्री क्षेत्रमा पनि यही समस्या देखिएको छ। सन् २०२३ को अन्त्यदेखि अमेरिकी नौसेनाले रेड सागर क्षेत्रमा हाउथी समूहका सस्तो ड्रोन र मिसाइल रोक्न करिब एक अर्ब डलर बराबरको हतियार खर्च गरिसकेको बताइएको छ।मिसाइलको मूल्य मात्र होइन, यसको प्रयोगसँग सम्बन्धित अन्य खर्च पनि अत्यधिक हुन्छ। युद्धपोत, इन्धन, मर्मत, दक्ष जनशक्ति, निगरानी प्रणाली र कमाण्ड–नियन्त्रण संरचनाहरू सबै आवश्यक पर्ने भएकाले समग्र खर्च झन् बढ्छ।

यसैबीच, अमेरिकाले पनि सस्तो ड्रोनको प्रतिस्पर्धामा आफूलाई अघि बढाउन प्रयास गरिरहेको छ। सरकारले साना र कम लागतका ड्रोन प्रणालीहरूलाई छिटो स्वीकृति दिने नीति अपनाएको छ। सन् २०२५ मा अमेरिकी रक्षा सचिवले “अमेरिकी सैन्य ड्रोन प्रभुत्व विस्तार” शीर्षकको निर्देशन जारी गर्दै ड्रोन उत्पादन र प्रयोगलाई तीव्र बनाउन आदेश दिएका थिए। उनले प्रतिस्पर्धी देशहरूले लाखौं ड्रोन उत्पादन गरिरहेका बेला अमेरिका पुराना प्रक्रियाका कारण पछि परेको चेतावनी दिएका छन्।समग्रमा, आधुनिक युद्ध प्रविधिमा आएको परिवर्तनले हवाई युद्धको परम्परागत स्वरूपलाई चुनौती दिइरहेको छ। अब केवल महँगा विमान र अत्याधुनिक प्रविधिले मात्र विजय सुनिश्चित गर्ने अवस्था छैन। सस्तो, छरितो र ठूलो सङ्ख्यामा प्रयोग गर्न सकिने ड्रोनहरूले युद्धको रणनीति नै बदल्दै लगिरहेका छन्।

Please Login to comment in the post!

you may also like