मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय हवाई यात्रामा परेको प्रभावलाई मध्यनजर गर्दै टर्किस एयरलाइन्स ले काठमाडौं–इस्तानबुल रुटमा थप उडान सञ्चालन गर्ने घोषणा गरेको छ। एयरलाइन्सका अनुसार बढ्दो यात्रु चाप व्यवस्थापन तथा यात्रुहरूलाई सहज विकल्प उपलब्ध गराउने उद्देश्यले आगामी मार्च २७ मा अतिरिक्त उडान तालिका तय गरिएको हो। उक्त अतिरिक्त उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण बाट आवश्यक अनुमति समेत प्राप्त भइसकेको जनाइएको छ।
एयरलाइन्सले सार्वजनिक गरेको विवरणअनुसार मार्च २७ मा टीके ७२६ उडान इस्तानबुलबाट राति १:३० बजे प्रस्थान गरी बिहान ११:२० बजे काठमाडौं अवतरण गर्नेछ भने टीके ७२७ उडान सोही दिन काठमाडौंबाट दिउँसो १२:४५ बजे उडान भरी साँझ ६:२० बजे इस्तानबुल पुग्नेछ। मध्यपूर्व क्षेत्र हुँदै यात्रा गर्ने नेपाली तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई लक्षित गरी यो व्यवस्था गरिएको बताइएको छ, जसले आकस्मिक यात्रा आवश्यकतामा परेका यात्रुहरूलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ।
हाल मध्यपूर्व क्षेत्रमा देखिएको अस्थिरताका कारण विभिन्न एयरलाइन्सले उडान तालिकामा परिवर्तन गरिरहेका बेला टर्किस एयरलाइन्सको यो कदमलाई यात्रु केन्द्रित निर्णयका रूपमा हेरिएको छ। विशेषगरी नेपाल आउने र जाने यात्रुहरूको संख्या बढिरहेको सन्दर्भमा यस्तो थप उडानले हवाई सेवामा लचकता ल्याउने विश्वास गरिएको छ। साथै, पर्यटन तथा वैदेशिक रोजगारसँग सम्बन्धित यात्रुहरूका लागि समेत यो निर्णय उपयोगी हुने सरोकारवालाहरूले बताएका छन्।