एक समय विश्व विमानन क्षेत्रमा सामान्य ट्रान्जिट बिन्दुका रूपमा रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलआज अन्तर्राष्ट्रिय यात्रु संख्याका हिसाबले विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। सन् 2024 मा मात्र ९२ मिलियनभन्दा बढी यात्रुले यसको प्रयोग गरेका थिए, जसले हीथ्रो विमानस्थललाई पनि पछि पारेको छ। तर हाल मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण यो सफलताको मोडेल गम्भीर चुनौतीमा परेको छ।
मध्यपूर्वमा भएको सैन्य तनावपछि क्षेत्रीय आकाशमार्ग बन्द हुँदा हजारौं उडानहरू प्रभावित भएका छन्। विशेष गरी एमिरेट्स,एतिहाद एयरवेज,कतार एयरवेज जस्ता प्रमुख गल्फ एयरलाइन्सका उडानहरू ठप्प भएका थिए। यसले दुबई, अबुधाबी र दोहा विमानस्थलहरूमा हजारौं यात्रु अलपत्र परे।ऊर्जा आपूर्तिमा समेत समस्या देखिएको छ। होर्मुज जलडमरू बन्दजस्तै भएपछि जेट इन्धनको अभाव सिर्जना भएको छ, जसले इन्धन मूल्य दोब्बर बनाएको छ। यसले एयरलाइन्सहरूलाई उडान कटौती गर्न बाध्य बनाएको छ र आगामी दिनमा हवाई भाडा बढ्ने सम्भावना देखिएको छ।गल्फ क्षेत्रको विमानन मोडेल मुख्यतः ट्रान्जिट यात्रुमा आधारित छ, जहाँ यात्रुहरू एक ठाउँबाट अर्को ठाउँमा जाँदा यहाँ छोटो समयका लागि ट्रान्जिट हुन्छन्। दुबईमा मात्रै करिब ४७% यात्रु ट्रान्जिटका लागि आउने गर्छन्। तर हालको असुरक्षा र अनिश्चितताले यात्रुहरूलाई वैकल्पिक मार्ग रोज्न प्रेरित गर्न थालेको छ।
विशेषज्ञहरूका अनुसार यदि द्वन्द्व लामो समयसम्म जारी रह्यो भने गल्फ क्षेत्रको विमानन मोडेलमा दीर्घकालीन असर पर्न सक्छ। यात्रुहरूले सिंगापुर, बैंकक, हङकङ वा टोकियो जस्ता वैकल्पिक हबहरू रोज्न सक्छन्।यद्यपि, केही विज्ञहरू अझै आशावादी छन्। विगतमा पनि महामारी र अन्य संकटहरू पार गर्दै आएको विमानन उद्योग पुनः सुधार हुने विश्वास व्यक्त गरिएको छ। तर अहिलेको अवस्थाले गल्फ राष्ट्रहरूको पर्यटन, व्यापार र आर्थिक विविधीकरणमा गम्भीर असर पार्न सक्ने देखिन्छ।अन्ततः, यो संकट कति समयसम्म रहन्छ भन्ने कुराले नै गल्फ क्षेत्रको विमानन भविष्य निर्धारण गर्नेछ। यदि अवस्था छिट्टै सामान्य भयो भने पुरानै अवस्थामा फर्किने सम्भावना छ, अन्यथा विश्वव्यापी लामो दूरीको हवाई यात्रा प्रणालीमै ठूलो परिवर्तन आउन सक्छ।