प्रधानमन्त्री पदमा नियुक्त भएपछि बालेन्द्र (बालेन) शाहको राजनीतिक यात्रा नयाँ मोडमा प्रवेश गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा क्षेत्र नम्बर ५ बाट भारी मतका साथ निर्वाचित भएका उनले जनतासामु प्रस्तुत गरेको ‘बाचा पत्र’ अब कार्यान्वयनको चरणमा पुगेको छ । चुनावका बेला उनले राजनीति सेवामुखी हुनुपर्ने धारणा राख्दै सुशासन, विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र भूमिहीन समस्या समाधानलाई मुख्य प्राथमिकतामा राखेका थिए । जनताको व्यापक समर्थनका आधारमा देशको कार्यकारी प्रमुख बनेपछि ती प्रतिबद्धताहरू पूरा गर्ने चुनौती र जिम्मेवारी दुवै उनको काँधमा आएको छ ।
झापा–५ का मतदाताले लामो समयदेखि रोकिएका र अधुरा रहेका विकास आयोजनाहरू सम्पन्न हुने अपेक्षा राखेका छन् । विशेष गरी दमक–चिसापानी सडक निर्माण, दमक औद्योगिक पार्क, दमक भ्यु टावर सञ्चालन, दमक अस्पतालको स्तरोन्नति जस्ता परियोजनाहरू अब तीव्र गतिमा अघि बढ्ने विश्वास गरिएको छ । साथै, दमकलाई ‘आईटी हब’ का रूपमा विकास गर्ने योजना युवापुस्ताका लागि आकर्षणको केन्द्र बनेको छ । कमल गाउँपालिकामा रहेको आदिवासी रंगशाला तथा स्मृति पार्कको निर्माण सम्पन्न गर्ने, गौरीगन्ज छोटी भन्सारको स्तरोन्नति गर्ने र भूमिहीन तथा सुकुमबासी समस्या समाधान गर्ने विषयहरू पनि स्थानीय प्राथमिकतामा परेका छन् । बालेनले आफ्नो बाचा पत्रमा यी सबै विषय समेटेका कारण जनतामा थप आशा जागेको छ ।उनले सुशासनलाई आफ्नो शासनको मुख्य आधार बनाउने बताएका छन् । भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने, सरकारी निकायहरूलाई पारदर्शी बनाउने र जनताको गुनासो सुनुवाइका लागि अनलाइन प्रणाली लागू गर्ने उनको योजना छ । डिजिटल ड्यासबोर्डमार्फत विकास आयोजनाहरूको प्रगति सार्वजनिक गर्ने अवधारणा पनि उनले अघि सारेका छन् । यसले सरकार र नागरिकबीचको दूरी घटाउने र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ । चिया बगानका मजदुरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र श्रम कानुन सुधार गर्ने प्रतिबद्धता पनि उनले जनतासँग गरेका छन् ।
भूमिहीन र सुकुमबासी समस्या समाधान उनको अर्को महत्वपूर्ण एजेन्डा हो । उनले १०० दिनभित्र आयोग गठन गर्ने र १००० दिनभित्र समस्या समाधान गर्ने लक्ष्य राखेका छन् । जमिनको खण्डीकरण रोक्न ल्यान्ड बैंक स्थापना गर्ने र जग्गाको नापी–नक्सा डिजिटलाइज गर्ने योजना पनि उनले प्रस्तुत गरेका छन् । यो कार्यान्वयन भएमा भूमि व्यवस्थापनमा सुधार आउने विश्वास गरिएको छ । यस्ता योजनाले दीर्घकालीन रूपमा सामाजिक र आर्थिक स्थायित्वमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।शिक्षा क्षेत्रमा उनले विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्ने लक्ष्य राखेका छन् । त्यसका लागि सिपमूलक शिक्षा कार्यक्रम सञ्चालन गर्ने र विद्यालय छोड्ने दर शून्यमा झार्ने योजना अघि सारेका छन् । कमल गाउँपालिकामा कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने, दमकमा बहुप्राविधिक शिक्षालय खोल्ने र साइन्स पार्क निर्माण गर्ने योजना पनि उनको बाचा पत्रमा समेटिएको छ । यी योजनाले स्थानीय स्तरमै गुणस्तरीय शिक्षा र अनुसन्धानको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना ल्याएका छन् । दमक अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गर्ने, विपन्न र बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने, घर–घर स्वास्थ्य सेवा कार्यक्रम लागू गर्ने र २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गर्ने प्रतिबद्धता उनले गरेका छन् । यी योजनाले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने र कमजोर वर्गलाई राहत पुर्याउने लक्ष्य राखिएको छ ।पूर्वाधार विकासतर्फ दमकलाई पूर्वी नेपालको प्रविधि केन्द्र बनाउने लक्ष्य राखिएको छ । साथै, आदिवासी जनजाति रंगशाला निर्माण, विराट बुद्ध पार्कको काम सम्पन्न गर्ने र दमक–रवि–चिसापानी सडक सञ्चालनमा ल्याउने योजनाहरू पनि महत्वपूर्ण रूपमा अघि सारिएका छन् । यस्ता परियोजनाले पर्यटन, खेलकुद र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने विश्वास गरिएको छ ।कृषि क्षेत्रमा किसानका लागि समर्थन मूल्य सुनिश्चित गर्ने, कृषि भण्डारण केन्द्र स्थापना गर्ने, कृषि बीमा प्रणाली लागू गर्ने र विद्युतमा अनुदान दिने योजना उनले अघि सारेका छन् । हरेक किसानलाई बैंकिङ प्रणालीमा जोड्ने र आर्थिक पहुँच विस्तार गर्ने लक्ष्य पनि राखिएको छ । यी योजनाले कृषिमा आधुनिकीकरण र उत्पादन वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
महिला र सामाजिक समावेशीताको क्षेत्रमा उनले आमाको नामबाट नागरिकता लिने प्रक्रिया सरल बनाउने, महिला कृषि कर्जा उपलब्ध गराउने र प्रत्येक वडामा महिला तथा बालबालिकाका लागि सुरक्षित आवास (सेफ हाउस) निर्माण गर्ने योजना अघि सारेका छन् । यसले महिला सशक्तिकरण र सामाजिक सुरक्षा मजबुत बनाउने लक्ष्य राखेको छ ।समग्रमा हेर्दा बालेन शाहले जनतासँग गरेका बाचा व्यापक र महत्वाकांक्षी छन् । उनले पाएको जनमत विश्वासको प्रतीक हो, तर त्यो विश्वासलाई परिणाममा रूपान्तरण गर्नु नै उनको सबैभन्दा ठूलो परीक्षा हुनेछ । संविधानको परिपालना गर्दै नागरिकमैत्री कानुन निर्माण गर्ने, विकासका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र देशलाई समृद्धिको बाटोमा अघि बढाउने जिम्मेवारी अहिले उनको हातमा छ । अब जनताले उनका वाचा पूरा हुने प्रतीक्षा गरिरहेका छन्, र उनको कार्यकालले नै ती सबै अपेक्षाहरूको वास्तविक मूल्यांकन गर्नेछ ।