• Saturday, June 21, 2025

मेक्सिकोमा नयाँ महिला राष्ट्रपती,बाइडेनको बधाई


अमेरिकी राष्ट्रपति जो बाइडेनले मेक्सिकोको पहिलो महिला राष्ट्रपतिका रूपमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक जितका लागि क्लाउडिया सेनबामलाई बधाई दिएका छन् । ‘म क्लाउडिया सेनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा उहाँको ऐतिहासिक जितका लागि बधाई दिन चाहन्छु,’ बाइडेनले सोमबार एक विज्ञप्तिमार्फत भने  । 

‘हामी दुई देशबीचको स्थायी बन्धनलाई प्रतिबिम्बित गर्ने साझेदारी र मित्रताको भावनामा राष्ट्रपति–निर्वाचित सेनबामसँग नजिकबाट काम गर्न उत्सुक छौँ। हाम्रा जनताको हितका लागि दुवै राष्ट्रको मूल्य र हितलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने ।

यसबाहेक, बाइडेनले मेक्सिकन जनतालाई राष्ट्रव्यापी लोकतान्त्रिक चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिए ।‘स्थानीय, राज्य र संघीयस्तरमा २० हजारभन्दा बढी पदका लागि भएको राष्ट्रव्यापी सफल लोकतान्त्रिक निर्वाचन प्रक्रिया सञ्चालन गरेकोमा म मेक्सिकन जनतालाई पनि बधाई दिन चाहन्छु,’ राष्ट्रपति बाइडेनले बताए । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले मेक्सिकोको अर्को राष्ट्रपतिको रूपमा निर्वाचित  भएकोमा क्लाउडिया सेनबामलाई बधाई दिए र दुई देशबीचको साझेदारीलाई बलियो बनाउन सहकार्यका लागि उत्सुकता व्यक्त गरे । जलवायु वैज्ञानिक तथा मेक्सिको सहरकी पूर्वमेयर क्लाउडिया सेनबाम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनी  यो पद सम्हाल्ने यहुदी सम्प्रदायकी पहिलो यहुदी नेता पनि भएको पोलिटिकोले जनाएको छ। मेक्सिकोको निर्वाचन कार्यालयबाट प्राप्त प्रारम्भिक परिणामअनुसार ६१ वर्षीया सेनबामले लगभग ५८ प्रतिशत मत प्राप्त गरेकी थिइन् । 

मतदातालाई समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै सेनबामले यसलाई ऐतिहासिक क्षण रहेको बताइन् । सेनबामले भनिन्, ‘गणतन्त्रको दुई सय वर्षमा पहिलोपटक म मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्नेछु। हामीले पूर्ण रूपमा लोकतान्त्रिक मेक्सिको हासिल गरेका छौँ ।’

Please Login to comment in the post!

you may also like