सिआइबीले हाल संगठित अपराध र भन्सार चोरी पैठारीसम्बन्धी मुद्दामा नौजनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । सो समूहले बैंकिङ प्रणालीको कमजोरी पत्ता लगाएर तस्करीको रकमको कारोबार गरेको भेटिएको छ ।
गत वर्ष २ साउनमा ‘ब्रेक सु’मा लुकाएर विमानस्थलबाट तस्करी गरिएको करिब ६१ किलो सुन बरामद गरी अनुसन्धान गर्ने क्रममा ठूलो गिरोह पत्ता लागेको थियो । यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध गत वर्ष ३१ भदौमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० किलो सात सय १६ ग्राम सुन बरामद भएको थियो । सिआइबीले विशेषज्ञ र प्राविधिकहरूसमेतको सहयोग लिएर यस विषयमा विस्तृत अनुसन्धान गर्दा दुई हजार आठ सय केजीभन्दा धेरै तस्करी गरेको पुष्टि भएको हो । सो गिरोहले ब्रेक सुका साथै पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मसिनलगायत सामानभित्र लुकाएर विमानस्थलबाटै सुन तस्करी गरेका थिए ।
चिनियाँ नागरिक नेतृत्वको समूहले यसरी तस्करी भएको सुनको भुक्तानीका लागि समेत संगठित रूपमा ठूलो सञ्जाल बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
प्रारम्भिक छानबिनमा दुई भुक्तानी कम्पनी पे वेल र सजिलो पेको प्लेटफर्म दुरुपयोग भएको देखिएपछि थप व्यक्ति नफसून् भनेर विस्तृत छानबिनका लागि खाता रोक्का गरेका हौँ । यस विषयमा प्रहरीसँग पनि समन्वय भइरहेको छ । गैरकानुनी कारोबारमा कम्पनीकै मिलेमतो देखिएमा लाइसेन्ससमेत रद्द समेत हुन सक्छ ।