आईईएलटीएसमा ६ अंक ल्याउने मात्र श्रम सहचारी बन्न पाउने भएका छन् ।
विदेशस्थित नेपाली नियोगहरूमा काउन्सेलर तथा श्रम सहचारी पदमा काम गर्न जाने कर्मचारीले अब अनिवार्य आईईएलटीएसमा ६ अंक (स्कोर) ल्याउनु पर्ने भएको हो । आईईएलटीएसमा उक्त अंक नल्याए श्रम सहचारी पदमा काम गर्न जान पाउने छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको ‘काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी मापदण्ड, २०८१’ मा उक्त व्यवस्था गरिएको हो ।
“विदेशस्थित नेपाली कूटनीतिक नियोगमा रहने काउन्सेलर (श्रम) तथा श्रम सहचारीको नियुक्तिलाई व्यवस्थित र नियमित गर्न वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४३ (२) बमोजिम यो मापदण्ड बनाइएको छ,” मामदण्डमा भनिएको छ । मापदण्डमा नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका कर्मचारी मात्र काउन्सेलर तथा श्रम सहचारी पदमा नियुक्तिको लागि सम्भाव्य उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।