• Tuesday, March 3, 2026

बरफ घट्दासमेत स्वालबार्डका ध्रुवीय भालु मोटा र स्वस्थ बन्दै, वैज्ञानिकहरू अचम्मित


जलवायु परिवर्तनका कारण समुद्री बरफ तीव्र रूपमा घट्दै गए पनि नर्वेको आर्कटिक द्वीपसमूह स्वालबार्डमा रहेका ध्रुवीय भालुहरू सन् १९९० को दशकयता अपेक्षाविपरीत मोटा र स्वस्थ बन्दै गएको वैज्ञानिकहरूले बताएका छन्। नर्वेजियन पोलार इन्स्टिच्युटका अनुसन्धानकर्ताले सन् १९९२ देखि २०१९ सम्म ७७० वयस्क ध्रुवीय भालुको तौल, उचाइ र शारीरिक अवस्था मापन गर्दा उनीहरूको बोसोको मात्रा उल्लेखनीय रूपमा बढेको पाइएको हो।

सामान्यतया ध्रुवीय भालुले सिल सिकार गर्न समुद्री बरफमा निर्भर रहने भए पनि हाल उनीहरूले रेनडियर र वालरसजस्ता जमिनमा पाइने सिकार बढ्दो रूपमा खाने गरेको अनुमान गरिएको छ। यस अवधिमा स्वालबार्ड क्षेत्रमा वर्षेनी झण्डै चार दिनका दरले बरफरहित दिन बढ्दै कुल झण्डै १०० दिन थपिएको भए पनि वालरसको संरक्षणका कारण संख्या बढ्नु र सिकार सजिलो हुनु भालुका लागि अस्थायी फाइदा बनेको वैज्ञानिकहरूको भनाइ छ।

यद्यपि अनुसन्धानकर्ताहरूले यसलाई दीर्घकालीन सकारात्मक संकेत मान्न नसकिने चेतावनी दिँदै भविष्यमा बरफ अझै घट्दै जाँदा भालुहरूलाई बढी दूरी यात्रा गर्नुपर्ने, ऊर्जा बढी खर्चिनुपर्ने र बच्चा भालुको बाँच्ने सम्भावना घट्ने बताएका छन्, जसका कारण आर्कटिक क्षेत्रका अन्य ठाउँमा भने ध्रुवीय भालुको संख्या घट्दो क्रममा रहेको छ।

Please Login to comment in the post!

you may also like