जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी फुटाएर गठित नयाँ दलका सात सांसदलाई प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा सहभागी नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटमाथि सोमबार सुनुवाइ हुँदै छ ।
पार्टी फुटाएका सात सांसद अदालतको आदेशअनुसार पदबाट मुक्त भइसकेको दाबी यादवले गरेका छन् । ‘प्रतिनिधिसभाको सदस्य पद स्वतः गुमाइसकेका पूर्वप्रतिनिधिसभा सदस्यहरूलाई विश्वासको मतको प्रक्रियामा सहभागी गराई विश्वासको मत लिन पुगेको अवस्थामा त्यो मत प्रारम्भदेखि नै बदर हुने भएकाले त्यस्तो विश्वासको मतको मतदानलाई संविधानको धारा १०० को प्रयोजनका लागि विश्वासको मत प्राप्त गरेको भनी गणना नगर्नू–नगराउनू ।
यस प्रकारका सदस्यता गुमाइसकेका सांसदको गणना र सहभागितालाई संविधानतः अनधिकृत सहभागिता मानी अभिलेख राखी कामकारबाही अघि बढाउनु भनी चाहिने अन्य उपयुक्त आदेशसमेत जारी गरिपाऊँ,’ आइतबार दायर रिटमा भनिएको छ ।