काठमाडौँ – नेपाली सेनाले आज सोमबार सैनिक मञ्च टुँडिखेलमा बडादशैँको सप्तमीका अवसरमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने यो समारोहमा नेपाली सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट बढाइँ गर्नेछ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति समेत हुन्।उक्त समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाच, र सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको ब्यानर प्रदर्शनका साथै पुष्पवृष्टि गरिनेछ। फूलपाती बढाइँलाई नेपालको धर्म, संस्कृति र परम्परालाई जीवन्त राख्ने विशिष्ट मौलिक कार्यक्रमका रूपमा लिइन्छ।परम्परागत रूपमा गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दशैँघरमा साइत जुराएर भित्र्याएपछि टुँडिखेलमा फूलपाती बढाइँ गर्ने प्रचलन छ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट महानुभावहरूको सहभागिता रहनेछ।नेपाली सेनाले हरेक वर्ष बडादशैँको सप्तमीका दिन टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दै आएको छ, जसले सैनिक परम्परा र सांस्कृतिक महत्त्वलाई उजागर गर्छ।