• Saturday, June 21, 2025

सहकारी समस्या अध्ययन समितिको कार्यक्षेत्र बारे छलफल गर्न समितिको बैठक डाकियो


 सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । बैठक आज बिहान नौ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको छ । सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।

गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानमा छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत छैनन् । कार्यदलमा आइतबार पटक–पटक गरी सात घण्टाभन्दा बढी समय छलफल भए पनि सहमति जुटेको थिएन । यही विवादका कारण संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ भने संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन 

नेपाली कांग्रेसले आफ्ना माग पूरा गराउन सत्ता पक्षलाई दबाब दिने उद्देश्यले मंगलबार पनि वेल घेर्दै संसद बैठकमा नाराबाजी गरेको थियो । त्यही नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए ।

Please Login to comment in the post!

you may also like