काठमाडौँ — जेनजी आन्दोलनका प्रमुख अगुवा सुदन गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री ओमप्रकाश अर्यालप्रति तीव्र आक्रोश पोखेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको स्ट्याटसमा उनले गृहमन्त्रीलाई ‘अलोकप्रिय’ भनेका छन्। आन्दोलनका क्रममा भएको दमन, गोली प्रहार र दर्जनौँको ज्यान जाने घटनाका दोषीहरूमाथि कारबाही नभएकोमा गुरुङको रोष झनै चर्किएको छ।
गुरुङले गृहमन्त्रीलाई प्रत्यक्ष सम्बोधन गर्दै लेखेका छन्, “तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन। देशभरिबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ भन्ने सुन्ने तपाईं गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति ठाडो अपमान हो। शहीदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा, आँसु र पीडा सम्झनुहोस्।”
जेनजी आन्दोलनले उठाएका मुद्दा—सुशासन, भ्रष्टाचारविरोध, न्याय र जवाफदेहिता—अझै अनुत्तरित छन्। दमनका जिम्मेवारहरूमाथि छानबिन र कारबाहीको मागलाई सरकारले बेवास्ता गर्दा जनआक्रोश चुलिएको छ। गुरुङले गृहमन्त्रीको भूमिकालाई नैतिक रूपमा असफल ठहर्याउँदै आफूसँगको आशा पूरै मेटिएको बताएका छन्।
“जनताको विश्वास गुमाउने, पीडितको आवाज दबाउने र दोषीहरूलाई संरक्षण गर्ने प्रवृत्तिले राज्यप्रति नै अविश्वास बढाएको छ,” उनले थपे।
यसअघि पनि अधिकारकर्मी र नागरिक समाजले दमनका दोषीमाथि कारबाहीको माग गर्दै आएका छन्। तर गृहमन्त्री अर्यालले यसबारे स्पष्ट धारणा व्यक्त गरेका छैनन्। गुरुङको यो अभिव्यक्तिले जेनजी आन्दोलनका मुद्दालाई पुनः जीवन्त बनाएको छ भने सरकारमाथि थप दबाब सिर्जना भएको छ।