चिनियाँ कम्युनिस्ट पार्टीले सैन्य भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै आएका एक अनुभवी अधिकारीलाई देशको दोस्रो सर्वोच्च दर्जाका जनरलका रूपमा नियुक्त गरेको छ। नौ जना जनरललाई भ्रष्टाचारको आरोपमा पदमुक्त गरेको केही दिनमै यो घोषणा गरिएको हो।केन्द्रीय सैन्य आयोगका उपाध्यक्षका रूपमा झाङ सेङमिन को नियुक्ति पार्टीको चारदिने केन्द्रीय समिति बैठकको अन्त्यमा सार्वजनिक गरिएको हो। यो आयोग चीनको सबैभन्दा शक्तिशाली सैन्य निकाय हो।झाङ अब आयोगका दोस्रो उपाध्यक्ष हुनेछन्, जसअन्तर्गत उनी राष्ट्रपति सी जिनपिङ र पहिलो उपाध्यक्ष झाङ यौक्सियाका पछि तेस्रो शक्तिशाली अधिकारी बनेका छन्।गत हप्तामात्रै चीनको रक्षा मन्त्रालयले नौ जनरलहरूलाई “गम्भीर आर्थिक अपराध” को आरोपमा निष्कासन गरिएको जनाएको थियो। तर विश्लेषकहरूका अनुसार, यो कदम केवल भ्रष्टाचार विरोधी नभई राजनीतिक सफाइ अभियानको हिस्सा पनि हो।
यो दशकौँयताकै सबैभन्दा ठूलो सार्वजनिक सैन्य शुद्धीकरण अभियानको रूपमा हेरिएको छ। जुलाई महिनामा नै केन्द्रीय सैन्य आयोगले सेनाभित्रको “विषाक्त प्रभाव हटाउने” उद्देश्यसहित नयाँ नियमावली जारी गरेको थियो, जसमा कडाइका साथ आचरणका ‘फलामे नियमहरू’ लागू गर्न भनिएको थियो।झाङ सेङमिन, ६७ वर्षका, चिनियाँ जनमुक्ति सेनाको रकेट फोर्सबाट आएका हुन्। उनी हालसम्म केन्द्रीय सैन्य आयोगको भ्रष्टाचारविरोधी विभागका उपसचिवका रूपमा कार्यरत थिए। सन् १९७८ मा उनले सेनामा प्रवेश गरेका थिए र राष्ट्रपति सी जिनपिङका नजिकका विश्वसनीय सहयोगी मानिन्छन्।यो नियुक्ति चीनको हालको सैन्य शुद्धीकरणका सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण मानिएको छ, जसमा अघिल्ला रक्षामन्त्री वेई फङ्हे र ली साङफुलगायतका अधिकारीहरू पनि पदच्युत भएका थिए।उक्त चारदिने बैठकमा पार्टीको केन्द्रीय समितिले नयाँ पाँच वर्षे योजना पनि पारित गरेको छ, जसले देशका आगामी प्राथमिकताहरू निर्धारण गर्नेछ। योजनाले “वैज्ञानिक तथा प्रविधिक आत्मनिर्भरता” मा जोड दिएको छ — विशेषगरी अमेरिकी प्रशासनले उच्च प्रविधिका कम्प्युटर चिप र सफ्टवेयरमा लगाइरहेको प्रतिबन्धका बीच।यससँगै, चीनले “हरित रुपान्तरण तीव्र पार्ने”, “रक्षा प्रणाली आधुनिक बनाउने” र “घरेलु उपभोग बढाउने” लक्ष्यसमेत लिएको छ, ताकि निर्यातमा आएको गिरावटका बीच आर्थिक स्थायित्व कायम राख्न सकियोस्।