काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा रहेका आशिफ साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले जनताको भावना, सञ्चारमाध्यममा आएका समाचार तथा पार्टीभित्रका साथीहरूको आवाजलाई सम्मान गर्दै सूचीबाट पछि हट्ने निर्णय गरेको बताएका हुन्।
उम्मेदवारी दर्तापछि आफूलाई लक्षित गर्दै आएका विभिन्न प्रतिक्रिया र समाचारले आत्ममन्थन गर्न बाध्य बनाएको उल्लेख गर्दै साहले लेखेका छन्, “नियत सही हुँदाहुँदै पनि कतै न कतै गल्ती भएको अनुभूति भयो।”
साहले आफू सक्रिय राजनीतिमा नलागे पनि देश निर्माणप्रति गहिरो चासो रहेको जनाउँदै बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङबीच सहकार्य सम्भव होस् भन्ने उद्देश्यले भएका प्रयासहरूमा आफू नजिकबाट संलग्न रहेको बताए। यही भूमिकाका कारण पार्टीभित्रका साथीहरूको आग्रहमा आफ्नो नाम सांसदको समानुपातिक बन्दसूचीमा समावेश गरिएको उनको भनाइ छ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “जनताको भावना र पार्टीभित्रको आवाजप्रति संवेदनशील हुँदै मैले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको हुँ।”
साहको यो निर्णयलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। कतिपयले उनको कदमलाई जिम्मेवार र नैतिक निर्णय भनेका छन् भने कतिपयले पार्टीभित्रको आन्तरिक दबाबका कारण यस्तो निर्णय आएको टिप्पणी गरेका छन्।