• Thursday, March 5, 2026

यात्रुवाहक रेल हात्तीको बथानसँग ठोक्किँदा सात वटा जंगली हात्तीको घटनास्थलमै मृत्यु



उत्तरपूर्वी भारतको आसाम राज्यमा यात्रुवाहक रेल हात्तीको बथानसँग ठोक्किँदा सात वटा जंगली हात्तीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एउटा हात्ती घाइते भएको बताइएको छ । मिजोरामबाट नयाँ दिल्लीतर्फ गइरहेको उक्त रेल हात्तीको बथानसँग ठोक्किँदा पाँच वटा डिब्बा लिकबाट बाहिरिए पनि कुनै पनि यात्रु घाइते नभएको अधिकारीहरूले जानकारी दिएका छन् ।

वरिष्ठ प्रहरी अधिकारी राकेश रेड्डीलाई उद्धृत गर्दै एएफपीले सात वटा हात्तीको घटनास्थलमै मृत्यु भएको र एउटा हात्ती घाइते भएको जनाएको छ । घटनापछि रेल सेवामा अस्थायी अवरोध आएको भए पनि यात्रुहरू सकुशल रहेको बताइएको छ ।

भारतीय रेल्वेका प्रवक्ता कपिन्जाल किशोर शर्माका अनुसार हात्तीको आवागमन हुने क्षेत्रमा ‘करिडोर’ पहिचान गरी गति नियन्त्रण प्रणाली लागू गरिएको छ । तर, उक्त दुर्घटना हात्तीका लागि सुरक्षित मानिएका करिडोर क्षेत्रभन्दा बाहिर भएको उनले स्पष्ट पारे ।

“रेल चालकले हात्तीको बथान देख्ने बित्तिकै आपत्कालीन ब्रेक लगाएका थिए, तर दूरी कम भएकाले हात्तीहरू रेलसँग ठोक्किन पुगे,” शर्माले भने, “यो अत्यन्तै दुखद दुर्घटना हो ।”

भारतमा करिब २२ हजार जंगली हात्ती रहेको अनुमान गरिन्छ, जसमध्ये चार हजारभन्दा बढी आसाममै बसोबास गर्छन् । पछिल्लो समय वन विनाश, वासस्थान संकुचन र मानव बस्ती तथा पूर्वाधार निर्माण तीव्र बन्दै जाँदा हात्तीहरू आहाराको खोजीमा टाढा–टाढा जान बाध्य भएका छन् । यसले मानव–वन्यजन्तु द्वन्द्व बढाउँदै लगेको विज्ञहरू बताउँछन् ।

संसदीय तथ्यांकअनुसार सन् २०२३–२०२४ को अवधिमा भारतमा हात्तीको आक्रमणबाट ६२९ जनाको मृत्यु भएको छ । विज्ञहरूका अनुसार रेल मार्ग, सडक र बस्ती वन्यजन्तुको परम्परागत आवागमन मार्गसँग जुध्दा यस्ता दुर्घटनाको जोखिम झन् बढ्दै गएको छ ।

Please Login to comment in the post!

you may also like