• Thursday, March 5, 2026

निर्वाचन सार्ने दुस्साहस नगर्न प्रचण्डको सरकारलाई चेतावनी



नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि तर्क र बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई कडा चेतावनी दिएका छन् । यदि निर्वाचन सार्ने प्रयास गरिए आफूहरू चुप लागेर नबस्ने उनले स्पष्ट पारेका छन् ।


पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले फेरि निर्वाचन सार्ने प्रयास भए संविधान मिचिने जिकिर गरे । देशलाई संकटबाट बचाउने र मुक्त गर्ने उद्देश्यसहित शक्ति एकीकृत गरिएको उल्लेख गर्दै उनले सहज र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिए ।


‘हामीले भनेका छौं—सहज तरिकाले निर्वाचन सम्पन्न होस्,’ उनले भने, ‘सरकारलाई हामी भन्न चाहन्छौं, कुनै पनि तर्क र बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोला ।’ उनले यसअघि पनि केही हदसम्म संविधान मिचिएको भए तापनि देशको असहज अवस्थालाई ध्यानमा राखेर आफूहरूले सहयोग गर्दै अघि बढेको बताए ।


प्रचण्डले अघिल्लो पटक संविधानमाथि आघात पुग्दा देशलाई संकटबाट जोगाउन अन्तरिम सरकार गठनको पहल गरिएको स्मरण गराउँदै भने, ‘यदि यो सरकारले फेरि निर्वाचनको मिति सार्ने वा धकेल्ने काम गर्‍यो भने फेरि संविधान मिचिन्छ । त्यसो भयो भने हामी चुप लागेर बस्ने छैनौं ।’ उनले केही ‘अहंकारी र दम्भी’ तत्वहरूले धम्कीको भाषा प्रयोग गरिरहेको आरोपसमेत लगाए ।


आफू धम्कीको भाषा प्रयोग गर्न नचाहेको स्पष्ट पार्दै प्रचण्डले शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न हुनुपर्ने बताए । उनले ६ महिना वा एक वर्षसम्म निर्वाचन सार्ने हल्ला पनि आफूले सुनेको उल्लेख गर्दै त्यसो गरिए देश फेरि दुर्घटनातर्फ जाने चेतावनी दिए ।

‘सरकारले यदि ६ महिना, एक वर्ष समय थप्ने खेल गर्‍यो भने देश फेरि दुर्घटनामा पर्छ,’ उनले भने, ‘अब कुनै पनि दुर्घटनाको बेला नेपाली कम्युनिस्ट पार्टी रमिते भएर बस्ने छैन ।’

Please Login to comment in the post!

you may also like