• Thursday, March 5, 2026

शुल्क वृद्धिले पोखराको अल्ट्रालाइट उडान सुस्ताउँदै



पोखराको अनुपम प्राकृतिक सौन्दर्यलाई आकाशबाट अवलोकन गर्ने लोकप्रिय साहसिक गतिविधि अल्ट्रालाइट उडान पछिल्लो समय सुस्ताउँदै गएको छ । कुनै समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने यो ‘पुतली जहाज’ अहिले पर्यटकको अभावसँग जुधिरहेको व्यवसायीहरू बताउँछन् ।

माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको चाँदीझैँ टल्किने दृश्य, तल फेवा, बेगनास, रुपा, मैदी, दीपाङ, गुँदे, खास्टे र न्यरेनी तालहरूले सजिएको रमणीय पोखरालाई ३६० डिग्री कोणबाट नियाल्न पाइने भएकाले अल्ट्रालाइट उडान पर्यटकबीच अत्यन्त लोकप्रिय थियो । दुई जना मात्र बस्न मिल्ने, सानो आकारको यो जहाज आकाशमा उड्दा रङ्गीचङ्गी पुतलीजस्तै देखिने भएकाले स्थानीयस्तरमा यसलाई ‘पुतली जहाज’ भनेर चिनिन्छ ।

खुला आकाशमा हावाको वेगसँगै कावा खाँदै प्रकृतिको मनोरम दृश्य अवलोकन गर्न पाइने यो साहसिक गतिविधि अहिले भने पर्यटकको प्राथमिकताबाट बिस्तारै बाहिरिँदै गएको देखिन्छ । एभिया क्लबकी प्रबन्ध निर्देशक नताशा श्रेष्ठका अनुसार उडान शुल्क महँगो बन्दै जाँदा आन्तरिक मात्र होइन, विदेशी पर्यटकको आकर्षणसमेत घट्दै गएको हो ।

उनका अनुसार केही वर्षअघिसम्म ८ हजार ५ सय रुपैयाँमा उपलब्ध हुने अल्ट्रालाइट उडान अहिले बढेर १७ हजार ५ सय रुपैयाँ पुगेको छ । नागरिक उड्डयन प्राधिकरणले टेक–अफ र ल्याण्डिङ शुल्क वृद्धि गरेपछि उडान खर्च बढेको र त्यसको प्रत्यक्ष असर व्यवसायमा परेको श्रेष्ठको भनाइ छ । शुल्क दोब्बर भएसँगै अल्ट्रालाइट गर्ने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा घटेको उनले बताइन् ।

‘एड्भेञ्चरको माता’को उपनामले चिनिने नताशा श्रेष्ठ नेपालमा साहसिक हवाई पर्यटनको परिकल्पनाकार मानिन्छिन् । उनले र उनका रुसी साझेदारहरूले २०५३ सालमा एभिया क्लब नेपालमार्फत पोखरामा अल्ट्रालाइट उडान सुरु गरेका थिए । दक्षिण एसियामै पहिलो पटक पोखरामा सञ्चालनमा आएको अल्ट्रालाइट उडानका लागि यहाँको भूगोल अत्यन्त अनुकूल मानिन्छ ।

श्रेष्ठका अनुसार दक्ष जनशक्ति र पर्यटनमैत्री राज्य नीतिको अभावले निजी क्षेत्रका साहसिक पर्यटन व्यवसाय धरासायी बन्दै गएका छन् । नयाँ लगानीकर्ताहरू निरुत्साहित हुँदा समग्र पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको उनको गुनासो छ । ‘सुरुमा पोखरामा यस्तो साहसिक खेल ल्याउँदा धेरैलाई अनौठो लागेको थियो, तर आज यो पोखराको पहिचान बनिसकेको छ,’ उनले भनिन्, ‘ताल र गुफामै सीमित रहेको पर्यटनलाई हामीले आकाशसम्म विस्तार गरेका हौँ, अब यसको प्रवर्द्धन र संरक्षण जरुरी छ ।’

सुरुवाती चरणमा अल्ट्रालाइट उडानका लागि पूर्ण रूपमा रुसी पाइलटमा निर्भर रहनु परेको भए पनि अहिले भने नेपाली युवा पाइलटले नै सफलतापूर्वक उडान गरिरहेका छन् । हाल पोखरामा एभिया क्लब नेपाल र पोखरा अल्ट्रालाइट प्रालिले मात्र यो सेवा सञ्चालन गरिरहेका छन् !


पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठका अनुसार कुनै समय दिनमा ४० सम्म उडान गर्ने कम्पनीहरू अहिले दिनको चार उडानमा सीमित हुनुपरेको छ । उनले पर्यटकलाई आकर्षित गर्ने साहसिक गतिविधिमा राज्यले पर्यटनमैत्री नीति बनाएर सहजीकरण गर्न सके व्यवसायले राहत पाउने र पर्यटन प्रवर्द्धन हुने बताए ।

एक समय साहसिक गतिविधिमा रुचि राख्ने पर्यटकको प्रमुख रोजाइमा रहेको अल्ट्रालाइट उडान अहिले चर्को शुल्क र पर्यटक अभावका कारण सुस्ताउनु दुःखद भएको व्यवसायीहरूको निष्कर्ष छ । केही वर्षअघि विदेशी साथीहरूसँग अल्ट्रालाइट उडान गरेका पोखराका रामबजार निवासी विकास गुरुङले पनि अहिले शुल्क अत्यधिक बढेको गुनासो गरे ।

‘शुल्क घटाउने हो भने आन्तरिक पर्यटक आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘प्याराग्लाइडिङ र अल्ट्रालाइट दुवैका आफ्नै विशेषता छन् ।’ गुरुङका अनुसार विदेशी पर्यटकहरूले पोखराको अल्ट्रालाइट उडानलाई विश्वकै उत्कृष्टमध्ये एक मान्ने गरेका छन् । ‘धेरै देशमा उडान भरेका मेरा एक जर्मन साथीले पोखराको आकाश उडेपछि यहाँको सुन्दरताको खुलेर प्रशंसा गरेका थिए,’ उनले सुनाए ।

Please Login to comment in the post!

you may also like