• Thursday, March 5, 2026

भारतीय पक्षको चेतावनी र डिपोर्टको जोखिमपछि दुर्गा प्रसाईंको दिल्ली यात्रा रद्द


काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाभियानका अभियन्ता दुर्गा प्रसाईंलाई भारतीय पक्षले दिल्ली विमानस्थलबाट डिपोर्ट गर्ने चेतावनी दिएपछि उनको काठमाडौंबाट दिल्ली जाने तयारी अन्तिम समयमा रद्द भएको छ।प्रसाईंले गत असोज १ गते अपरान्ह २:३० बजेको एयर इन्डियाको उडानबाट दिल्ली जाने योजना बनाएका थिए। तर, त्यसै बिहान भारतीय पक्षले उनको उडान टिकटको प्रतिलिपिसहित नेपाल सरकारलाई उनलाई रोक्न ‘अनुरोध’ पठाएको थियो। भारतीय पक्षको भनाइ थियो, “यदि तपाईंहरूले उनलाई रोक्नुभएन भने हामीले दिल्ली एयरपोर्टबाटै फिर्ता पठाउनुपर्नेछ, जुन दुवै देशका लागि राम्रो हुँदैन।”भारतीय अनुरोध परराष्ट्र मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेको थियो। तर, गृह मन्त्रालयका अधिकारीहरूले प्रसाईंलाई विदेश जान रोक्ने कानुनी आधार नभएको बताए। नवनिर्वाचित गृहमन्त्री ओमप्रकाश अर्यालले पनि “कानुनले मिल्छ भने रोक्ने हो, नत्र कसरी रोक्ने?” भन्दै असमर्थता जनाए। नेपाली पक्षले रोक्न नसक्ने जवाफ दिएपछि भारतीय पक्षले प्रसाईं नजिकका व्यक्तिहरूलाई डिपोर्टको जोखिमबारे जानकारी गराएको थियो। अन्ततः प्रसाईंले आफैं यात्रा रद्द गरे।यद्यपि, प्रसाईंले अनौपचारिक कुराकानीमा काठमाडौं विमानस्थल हुँदै दिल्ली जाने योजना नभएको दाबी गरे। उनले भने, “म बागडोग्रा वा अन्य रुटबाट दिल्ली जान्छु, काठमाडौं मेरो नियमित रुट होइन।” स्रोतका अनुसार, उनले केही दिनअघि स्थलमार्ग हुँदै दिल्ली भ्रमण गरेका थिए, तर उक्त भ्रमण सोचेजस्तो प्रभावकारी नभएको र दिल्ली पुलिसको निगरानीमा परेको उनले निकटस्थलाई बताएका छन्।जेनजी आन्दोलनका स्टेकहोल्डरका रूपमा जंगी अड्डालगायत विभिन्न निकायसँग छलफलमा रहेका प्रसाईं नयाँ सरकारमा अपेक्षित भूमिका नपाएकोमा असन्तुष्ट छन्। उनले सरकार गठनमा पश्चिमा शक्तिहरूको हस्तक्षेप भएको आरोप लगाएका छन्। सरकार गठन र अन्य निर्णयमा अपारदर्शी खेल भइरहेको भन्दै भारतीय पक्षसँग छलफल गर्न उनी दिल्ली जान खोजेका थिए। तर, भारतीय संस्थापनको असहयोगी रवैयाले उनको योजना प्रभावित भएको छ।काठमाडौंस्थित भारतीय दूतावासले भने यो विषयमा कुनै जानकारी नभएको भन्दै आधिकारिक प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

Please Login to comment in the post!

you may also like