• Tuesday, March 3, 2026

अमेरिकाको सहयोग बिना युरोपले आफ्नो रक्षा गर्न सक्दैन : नाटो प्रमुख



ब्रसेल्स — नाटोका महासचिव मार्क रुट्टेले युरोपले अमेरिकाको सहयोग बिना आफूलाई रक्षा गर्न सक्छ भन्ने सोच राखे “सपना देखिरहनु जस्तै” हुने बताएका छन्। उनले युरोपेली संसदलाई सम्बोधन गर्दै भने, “यदि कसैले युरोपेली संघ वा समग्र युरोपले अमेरिका बिना आफ्नो सुरक्षा गर्न सक्छ भन्छ भने, उनीहरू सपना देखिरहेका छन्। हामी एक–अर्कामा निर्भर छौँ।”रुट्टेले चेतावनी दिँदै भने कि यदि युरोपले पूर्ण रूपमा एक्लै रक्षा गर्न चाह्यो भने रक्षा खर्च कुल गार्हस्थ उत्पादन (GDP) को १० प्रतिशतसम्म पुर्‍याउनुपर्नेछ। साथै, आफ्नै परमाणु क्षमता विकास गर्नुपर्नेछ, जसका लागि अर्बौँ युरो खर्च लाग्नेछ।

“त्यसो गरेमा तपाईंहरूले हाम्रो स्वतन्त्रताको अन्तिम ग्यारेन्टर — अमेरिकी परमाणु सुरक्षा छाता — गुमाउनुहुनेछ। त्यसपछि शुभकामना,” उनले व्यंग्यात्मक रूपमा भने।उनका यी अभिव्यक्ति पछिल्लो समय युरोप र उसका पश्चिमी सहयोगीहरूका लागि उतार–चढावपूर्ण बनेको राजनीतिक परिस्थितिपछि आएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमाथि अमेरिकी स्वामित्वको माग दोहोर्‍याएपछि र पछि डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा बल प्रयोग गरेर कब्जा नगर्ने बताएपछि यो विषय पुनः चर्चामा आएको हो।रुट्टेले आर्कटिक क्षेत्रको सुरक्षाबारे ट्रम्पले उठाएको चिन्ताको प्रशंसा पनि गरे। “मलाई थाहा छ, यो कुरा धेरैलाई मन नपर्न सक्छ, तर उहाँ ठीक हुनुहुन्छ,” रुट्टेले भने, “आर्कटिक क्षेत्रमा सामूहिक सुरक्षाको समस्या छ, किनकि समुद्री मार्गहरू खुल्दै छन् र चीन तथा रुसको गतिविधि बढ्दो छ।”

ग्रिनल्यान्डसम्बन्धी विषयमा अब दुई कार्यदिशा अघि बढाइने रुट्टेले जानकारी दिए। पहिलो, नाटोले आर्कटिक क्षेत्रको सामूहिक रक्षा जिम्मेवारी बढाउनेछ, ताकि रुस र चीनको सैन्य तथा आर्थिक पहुँच रोक्न सकियोस्। दोस्रो, अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच त्रिपक्षीय वार्ता निरन्तर चलिरहनेछ। रुट्टेले भने, आफू ती वार्तामा संलग्न नहुने र डेनमार्कको तर्फबाट वार्ता गर्ने कुनै अधिकार आफूलाई नभएको स्पष्ट पारे।यसअघि डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेन र ग्रिनल्यान्डकी विदेशमन्त्री भिभियन मोट्जफेल्डले वाशिङ्टनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसँग भेट गरेका थिए। रासमुसेनले वार्ता “रचनात्मक” भए पनि “मौलिक असहमति” अझै कायम रहेको बताएका छन्।डाभोसमा ट्रम्प र रुट्टेबीचको भेटपछि ट्रम्पले नाटो प्रमुखसँग ग्रिनल्यान्डसम्बन्धी कुनै ‘फ्रेमवर्क’ सहमति भएको दाबी गरेका थिए। त्यसपछि उनले ग्रिनल्यान्ड अधिग्रहणको विरोध गर्ने युरोपेली देशहरूमाथि लगाउने भनेका भन्सार शुल्क पनि नलगाउने बताएका थिए। तर सो सहमतिमा के–के समावेश छन् र त्यसमा रुट्टेको वास्तविक भूमिका के हो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

Please Login to comment in the post!

you may also like