• Tuesday, March 3, 2026

लाइसेन्स ट्रायलमा रकम असुलीको आरोपमा चाबहिल यातायात कार्यालय प्रमुखसहित २७ जनाका मोबाइल अख्तियारद्वारा नियन्त्रण


काठमाडौं — यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसहित २७ जनाको मोबाइल फोन तथा विद्युतीय उपकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।लाइसेन्स ट्रायल तथा लिखित परीक्षामा अनियमितता गरी सेवाग्राहीबाट रकम असुलेको आरोपमा अख्तियारले मंगलबार दिउँसो छड्के अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा कार्यालय प्रमुख पोखरेलसहित १७ जना कर्मचारी, यातायात व्यवस्थापनमा खटिएका ३ जना प्रहरी र ड्राइभिङ सेन्टरका ७ जना कर्मचारीको साथबाट मोबाइल तथा अन्य विद्युतीय उपकरण नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।अख्तियारका अनुसार कार्यालयका १७ जना कर्मचारीबाट २५ थान, ३ जना प्रहरीबाट ३ थान र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टरका ७ जना कर्मचारीबाट ९ थान गरी जम्मा ३९ थान मोबाइल फोन नियन्त्रणमा लिइएको हो।

लिखित परीक्षा दिने सेवाग्राहीबाट ५ हजारदेखि १० हजार रुपैयाँसम्म असुल गरी लाइसेन्स उपलब्ध गराइएको भन्ने उजुरी अख्तियारमा परेको थियो। सोही उजुरीका आधारमा अख्तियारको विशेष टोलीले छड्के अनुगमन गर्दा शंकास्पद गतिविधि फेला परेपछि अनुसन्धानका लागि उपकरण नियन्त्रणमा लिइएको हो।यसका साथै, लिखित परीक्षा दिँदा अनुत्तीर्ण भएका तर पुनः परीक्षामा सहभागी गराइएका व्यक्तिहरूका कागजातसमेत अख्तियारले यातायात कार्यालयबाट नियन्त्रणमा लिएको छ।यातायात कार्यालयमा विचौलियामार्फत कर्मचारीहरूको मिलेमतोमा लाइसेन्स वितरण हुने गरेको आरोप यसअघि पनि लाग्दै आएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।

Please Login to comment in the post!

you may also like