ओखलढुङ्गा — चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक महिनाभित्रै दोस्रो पटक दम्पतीको हत्या भएको छ। यसअघि मगर दम्पतीको हत्या भएको स्थान नजिकै फेरि राई दम्पतीको निर्मम हत्या भएपछि स्थानीयवासीमा त्रास फैलिएको छ।सोही वडाको बोहोरे टोलमा बस्दै आएका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको जिल्ला प्रहरीले जनाएको छ।पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयको आशंका छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घरको दोस्रो तलास्थित सुत्ने कोठामा खाटमा सिरक ओढेको अवस्थामा श्रीमान् चन्द्रविक्रम राईको शव फेला परेको थियो भने उनकी श्रीमती चन्द्रमाया राईको शव खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा भेटिएको थियो।
उनीहरूको मृत्युको जानकारी मंगलबार बिहान करिब ७ः४० बजे प्रहरी चौकी निशङ्खेमा प्राप्त भएको थियो। खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।“घटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ,” उनले बताए।यसअघि गत पुस १५ गते भदौरेकै गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो। त्यसभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को पनि हत्या भएको थियो।
उक्त घटनामा संलग्न भएको आरोपमा मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल गरी चार जना युवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।एकै क्षेत्रमा शृङ्खलाबद्ध रूपमा दम्पतीहरूको हत्या हुनुले स्थानीयमा गहिरो त्रास पैदा भएको छ। गाउँघरमै यस्ता खालका घटनाहरू दोहोरिनुले नागरिक सुरक्षामा गम्भीर चुनौती थपिएको भन्दै स्थानीयवासीले दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न प्रहरीसँग माग गरेका छन्।