नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ। आज (शनिबार) बिहान करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको कुरा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताएका छन्।
आलमको शव अन्तिम दाहसंस्कारका लागि परिवारले रौतहटको राजपुरतर्फ लगिसकेको भट्टराईले जानकारी दिए। पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट रिहा भएलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यसबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। त्यसपछि उनी भारत गएर थप उपचार गराएका थिए।