स्टकहोम – सन् २०२५ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र संयुक्त राज्य अमेरिकाका ओमर यागीलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा नोबेल पुरस्कार छनौट समितिले बिहीबार गरेको छ। उनीहरूलाई ‘मेटल–अर्गानिक फ्रेमवर्क’ (एमओएफ) को विकासमा गरेको योगदानका लागि यो सम्मान दिइएको हो।नोबेल समितिका अनुसार, यी तीन वैज्ञानिकले ‘मलिक्यूलर आर्किटेक्चर’ को नवीन शैली विकास गरेका छन्। एमओएफ धातुका आयन र प्रांगारिक अणुहरूको संयोजनबाट बन्ने स्फटिकजस्तो संरचना हो, जसमा सूक्ष्म प्वालहरू हुन्छन्। यो संरचनाको पर्यावरण शुद्धीकरणदेखि विभिन्न वैज्ञानिक तथा औद्योगिक प्रयोजनमा महत्त्वपूर्ण उपयोगिता रहेको विज्ञहरूले बताएका छन्।क्योटो विश्वविद्यालयका प्राध्यापक सुसुमु कितागावा (जन्म: सन् १९५१, जापान) ले पुरस्कार घोषणापछि फोनमार्फत् आफ्नो खोजलाई सम्मानित गरिएकोमा गर्व र सम्मान महसुस भएको बताए। यस्तै, मेल्बोर्न विश्वविद्यालयमा प्राध्यापनरत रिचर्ड रब्सन (जन्म: सन् १९३७, बेलायत) र युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्क्लीका प्राध्यापक ओमर यागी (जन्म: सन् १९६५, जोर्डन) ले पनि यो खोजमा महत्त्वपूर्ण योगदान दिएका छन्।
यी वैज्ञानिकहरूले सन् १९९२ देखि २००३ सम्म एमओएफसम्बन्धी विभिन्न खोजहरू गरेका थिए। त्यसयता रसायनशास्त्रीहरूले हजारौँ प्रकारका एमओएफहरू निर्माण गरेका छन्, जसले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ सम्भावनाहरू खोलेको छ।यसअघि, नोबेल समितिले सोमबार चिकित्साशास्त्र र मंगलबार भौतिकशास्त्रतर्फका विजेताहरूको घोषणा गरिसकेको छ। अब बिहीबार साहित्य, शुक्रबार शान्ति र अर्को साता सोमबार अर्थशास्त्रतर्फका विजेताहरूको नाम घोषणा हुनेछ।यो पुरस्कारले एमओएफको विकासमा यी वैज्ञानिकहरूको योगदानलाई विश्वव्यापी रूपमा मान्यता प्रदान गरेको छ, जसले पर्यावरण र प्रविधिको क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।