काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्न केन्द्रीय सुरक्षा समितिले जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सञ्चार सम्पर्क नहुने मतदान स्थलहरूको पहिचान गरी वैकल्पिक सञ्चार व्यवस्था सुनिश्चित गर्ने निर्णय गरेको हो। साथै निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना फैलाउने र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूमाथि कडा निगरानी राख्ने निर्णय पनि गरिएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठक निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित वातावरणमा सम्पन्न गर्ने विषयमा केन्द्रित रहेको थियो। निर्वाचनसम्बन्धी सही, भरपर्दो र आधिकारिक सूचनामा सर्वसाधारणको पहुँच सुनिश्चित गरिने र सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई थप सशक्त र जिम्मेवार बनाइने भएको छ।
त्यस्तै, निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याउने, पेट्रोलियम पदार्थको खुला खरिद–बिक्री तथा दुरुपयोगलाई नियन्त्रण गर्ने विषयमा पनि बैठकले निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।
बैठकमा निर्वाचनका क्रममा सुरक्षाकर्मी परिचालन, उम्मेदवारको सुरक्षा व्यवस्थापनलगायतका समसामयिक विषयमा समेत विस्तृत छलफल भएको प्रवक्ता काफ्लेले जानकारी दिए।