• Saturday, June 21, 2025

सरकारले १० महिनामा उठायो ४ खर्ब ऋण, ३ खर्ब साँवा ब्याज भुक्तानी


काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब चार खर्ब बराबर सार्वजनिक ऋण उठाउँदा ३ खर्ब ८ अर्ब हाराहारी साँवा ब्याज भुक्तानी गरेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको वैशाख मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पछिल्लो १० महिनामा एक खर्ब ८८ अर्ब ३० करोड थप भएको छ। योसँगै कूल ऋण दायित्व २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ। 
जुन कूल गार्हस्थ्य उत्पादनको ४२.९४ प्रतिशत हुन आउँछ। कूल सार्वजनिक ऋणमा वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत अर्थात् १३ खर्ब ५५ अर्ब ६९ करोड रहेको छ।
आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत अर्थात् १२ खर्ब ६६ अर्ब ७० करोड रहेको छ। वैशाख महिनामा सार्वजनिक ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी गरेकाले अघिल्लो महिनाको तुलनामा कूल सार्वजनिक ऋण दायित्व घट्न गएको कार्यालयले जनाएको छ। गत चैत मसान्तसम्ममा कूल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड बराबर थियो।
सरकारको वार्षिक लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन प्रगति देखिए पनि बाह्य ऋण भने वार्षिक लक्ष्यको तुलनामा कम मात्र उठेको छ।
चालु आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा हालसम्म ३ खर्ब १ अर्ब १४ करोड उठाएको छ भने २८ अर्ब ८५ करोड आन्तरिक ऋण उठाउन बाँकी छ। 
त्यसैगरी यस वर्ष २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म ८९ अर्ब ६८ करोड उठिसकेको छ। १ खर्ब २७ अर्ब ३१ करोड उठ्न बाँकी छ।
सरकारले यस वर्ष सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीका लागि ४ खर्ब २ अर्ब ८५ करोड बजेट छुट्याएको थियो। जसमध्ये गत वैशाख मसान्तसम्ममा ३ खर्ब ८ अर्ब १४ करोड साँवाब्याज भुक्तानी भएको छ। यो वार्षिक बजेट विनियोजनको आधारमा ७६.४९ प्रतिशत हो। 

Please Login to comment in the post!

you may also like