• Saturday, October 18, 2025

काठमाडौंमा तनाव: संसद भवनको सुरक्षामा सेना परिचालन, कर्फ्यु जारी


काठमाडौं, भदौ २३, २०८२ – जेनजी आन्दोलनकारीहरूले नयाँ बानेश्वरस्थित संसद भवनको गेटमा आगजनी र तोडफोड गरेपछि सरकारले नेपाली सेना परिचालन गरेको छ। आन्दोलनकारीहरूले संसद भवनभित्र प्रवेश गर्ने प्रयास गरेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास, लाठीचार्ज र रबरको गोली प्रहार गरेको थियो। तर, आन्दोलन उग्र बनेपछि सरकारले सेना उतार्नुपरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार, मध्याह्न १२:३० बजेदेखि राति १० बजेसम्म नयाँ बानेश्वर, माइतीघर, तीनकुने र शंखमूल क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। संसद भवन, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवासलगायत संवेदनशील क्षेत्रमा सेनाले कडा निगरानी राखेको छ।

जेनजी आन्दोलनकारीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति र नेताहरूको बिलासी जीवनशैलीविरुद्ध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा दुई पत्रकारसहित दर्जनौं घाइते भएका छन्। कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेको छ, उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सेना परिचालन गरिएको बताए। “संसद भवन र अन्य महत्वपूर्ण संरचनाको सुरक्षा सुनिश्चित गर्न सेना खटिएको छ,” उनले भने।

आन्दोलनकारीहरूले संसद भवनको गेट नम्बर १ र २ मा आगजनी गरे पनि प्रहरीले तत्काल आगो निभाएको थियो। यद्यपि, कतिपय समूहले आन्दोलनमा घुसपैठ भएको भन्दै प्रदर्शन स्थगित गर्न आह्वान गरेका छन्, तर सडकमा अझै भिड तितरबितर भएको छैन।

सरकारले सर्वसाधारणलाई कर्फ्यु पालना गर्न र घरमै बस्न आग्रह गरेको छ।

Please Login to comment in the post!

you may also like