• Tuesday, March 3, 2026

कुलमान घिसिङले गरेको सहमतिको एक सातामै टेन्डर आह्वान


काठमाडौ। मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र जोड्ने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ । मंगलबार सरकार र मेलम्चीवासीबीच भएको सहमतिपछि सडक डिभिजन कार्यालय चरिकोटले १७ किलोमिटर सडकलाई तीन प्याकेजमा विभाजन गरी ठेक्का आह्वान गरेको हो । सहमतिअनुसार २० कात्तिकदेखि मेलम्चीको पानी सुरुङमार्फत काठमाडौं ल्याउन स्थानीय सहमत भएका छन् । बाढीपीडित, भेन्डर, कृषि फर्मलगायत सरोकारवालाका माग सम्बोधन गर्न जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तथ्य संकलन गरी तीन महिनाभित्र राहत तथा क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइनेछ ।

स्थानीय भेन्डरको बक्यौता १५ दिनभित्र निकासा गरिने, सडक निर्माणका लागि रु २५ करोड हस्तान्तरण भइसकेको तथा थप रु एक अर्बको बहुवर्षीय ठेक्का प्रक्रिया तत्काल सुरु हुने भएको छ । सामाजिक उत्थान कार्यक्रमका लागि रु २३ करोड निकासा माग गरिने र खानेपानी परिपूरण दर ४५ दिनभित्र मन्त्रिपरिषद्मा पेस गरिनेछ । सहमतिपत्रमा खानेपानी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, भौतिक सचिव केशवकुमार शर्मा, आयोजना कार्यकारी निर्देशक जगरनाथ दासलगायतले हस्ताक्षर गरेका छन् । मन्त्री कुलमान घिसिङको उपस्थितिमा भएको यो सहमतिले आयोजनाको अवरोध हटाएको छ ।

Please Login to comment in the post!

you may also like