अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई परमाणु कार्यक्रमसम्बन्धी सम्झौताका लागि चेतावनी दिँदै “समय सकिँदै गएको” बताएका छन्। खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति निरन्तर बढ्दै गएको सन्दर्भमा ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ठूलो नौसैनिक शक्तिसहितको “विशाल आर्माडा” ईरानतर्फ तीव्र गतिमा अघि बढिरहेको दाबी गरे। आवश्यक परे ती सैन्य शक्तिले तीव्र र हिंसात्मक कारबाही गर्न सक्ने चेतावनीसमेत उनले दिएका छन्। यसको प्रत्युत्तरमा संयुक्त राष्ट्रसंघस्थित ईरानको प्रतिनिधि नियोगले आपसी सम्मान र साझा हितका आधारमा संवादका लागि आफू तयार रहेको जनाउँदै, दबाब दिइए आत्मरक्षामा “पहिले कहिल्यै नदेखिएको” जवाफ दिने चेतावनी दिएको छ।
यसैबीच, ईरानमा पछिल्ला हप्ताहरूमा भएको व्यापक दमनका क्रममा हजारौं प्रदर्शनकारी मारिएको मानवअधिकार संस्थाहरूले दाबी गरेका छन्। यसअघि, गत जुनमा अमेरिका र इजरायलबीचको युद्धका क्रममा इरानका फोर्डो, नतान्ज र इस्फाहानस्थित परमाणु केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणले तनाव झनै चर्काएको थियो। अमेरिका परमाणु हतियार विकास रोक्न दबाब दिँदै आएको भए पनि ईरानले आफ्नो परमाणु कार्यक्रम पूर्णतः शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ। बढ्दो सैन्य तैनाथी र कडा चेतावनीसँगै अमेरिका–ईरान सम्बन्ध थप तनावपूर्ण बन्दै गएको विश्लेषकहरू बताउँछन्।