रुकुम पश्चिममा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपाका) बीच संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।मुसिकोटमा बसेको दुवै पार्टीको संयुक्त बैठकले एमाले जिल्ला अध्यक्ष तथा उम्मेदवार नन्दराम देवकोटाको संयोजकत्वमा ५५५ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको हो। कमिटी गठनबारे बुधबार मुसिकोटमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।संयोजक देवकोटाले भोलिबाटै संयुक्त चुनावी प्रचार सुरु हुने जानकारी दिँदै पार्टी केन्द्रको तालमेलअनुसार आफू उम्मेदवारीबाट पछि हटेर साझा उम्मेदवार जनार्दन शर्मालाई जिताउन लागिएको बताए। जिल्लामा शर्मालाई विजयी गराउने मुख्य जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उनले यो कार्य सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
देवकोटाले जिल्लाका सबै एमाले नेता तथा कार्यकर्तालाई प्रत्यक्षतर्फ आँखा चुनाव चिन्हमा मतदान गरी जनार्दन शर्मालाई जिताउन तथा समानुपातिकतर्फ सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे।कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्माले आफू यसअघि पनि साझा उम्मेदवारका रूपमा धेरै निर्वाचन लडेको स्मरण गर्दै एमालेसँगको तालमेलले आफ्नो जित थप सुनिश्चित भएको दाबी गरे। जिल्लाको समग्र विकासका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता उनले दोहोर्याए।