रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपसँग युद्ध गर्न रूस “अहिले नै तयार” रहेको बताएका छन्। उनले युरोपेली देशहरूलाई कडा चेतावनी दिँदै भनेका छन्, “हामी युरोपसँग लड्न चाहँदैनौं। मैले यो कुरा सयौँ पटक भनिसकेको छु। तर यदि युरोपले युद्ध चाहन्छ र सुरु गर्छ भने, हामी अहिले नै तयार छौँ।”पुटिनका अनुसार, यदि युरोपले रूसविरुद्ध युद्ध सुरु गर्यो भने मस्कोले “कसैसँग वार्ता गर्न बाँकी रहने छैन”। उनले यस्तो अवस्थामा रूसले पूर्ण शक्तिका साथ जवाफ दिने र कुनै सम्झौता वा वार्ताको सम्भावना नै नरहने स्पष्ट पारेका छन्।यो अभिव्यक्ति युक्रेन युद्ध सुरु भएको करिब ३ वर्षपछि आएको हो। पछिल्लो समय नेटो देशहरूले युक्रेनलाई लामो दूरीका हतियार प्रयोग गर्न अनुमति दिएपछि रूसले बारम्बार युरोप र अमेरिकालाई चेतावनी दिँदै आएको छ। पुटिनले यसअघि पनि पटक-पटक भनेका छन् कि नेटोको विस्तार र युक्रेनलाई हतियार उपलब्ध गराउनु रूसको सुरक्षाका लागि ठूलो खतरा हो।रूसले युक्रेनमा “विशेष सैन्य अभियान” सुरु गरेपछि पश्चिमी देशहरूले रूसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् भने युक्रेनलाई अर्बौँ डलरको सैन्य सहायता प्रदान गर्दै आएका छन्। तर पछिल्लो समय बेलायत, फ्रान्स, जर्मनीलगायतका देशले युक्रेनलाई रूसी भूमिमा हमला गर्न सक्ने मिसाइल दिने निर्णय गरेपछि तनाव अझ बढेको छ।पुटिनले युरोपेली नेताहरूलाई “अर्को विश्वयुद्धको खतरा” निम्त्याउन नचेताएका पनि होइनन्। उनको भनाइ छ, “यदि यस्तै जारी रह्यो भने युरोप आफैँ आगोसँग खेलिरहेको हुनेछ।” रूसी अधिकारीहरूले बारम्बार भनेका छन् कि नेटोले प्रत्यक्ष हस्तक्षेप गर्यो भने त्यो तेस्रो विश्वयुद्धको सुरुवात हुन सक्छ।यता, युरोपेली संघ र नेटोले रूसको यो धम्कीलाई “परम्परागत ब्लफ” भन्दै खारेज गरेका छन्। तर आम युरोपेली नागरिकमा भने रूससँग ठूलो युद्ध हुने डर बढ्दै गएको छ। पोल्याण्ड, बाल्टिक देशहरू र फिनल्याण्डजस्ता रूसको छिमेकी देशहरूले आफ्नो सैन्य तयारी बढाएका छन्।अहिलेको अवस्थामा रूस र पश्चिमबीचको तनाव दोस्रो विश्वयुद्धपछि सबैभन्दा उच्च बिन्दुमा पुगेको विश्लेषकहरू बताउँछन्। पुटिनको पछिल्लो अभिव्यक्तिले विश्वलाई फेरि एकपटक युद्धको छेउमा पुर्याएको छ भन्ने धेरैको बुझाइ छ।