• Tuesday, March 3, 2026

करिब २,९०० केजी शंकास्पद विस्फोटक, एके–४७ र अन्य हतियार बरामद


भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ भएको कार बम विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। साँझ करिब ६:५२ बजे ट्राफिक सिग्नलमा रोकिएको हुन्डाई आइ२० कारमा विस्फोट भएको दिल्ली प्रहरीले पुष्टि गरेको छ।

विस्फोट यति शक्तिशाली थियो कि वरपरका सवारीसाधन र भवनहरूमा समेत क्षति पुगेको बताइएको छ। प्रारम्भिक फरेन्सिक रिपोर्ट अनुसार विस्फोटमा अमोनियम नाइट्रेट प्रयोग गरिएको पाइएको छ।

उक्त कार हरियाणाको गुरुग्राममा एचआर२६ नम्बरमा दर्ता गरिएको थियो, जसका पहिलो मालिक मोहम्मद सलमान थिए। कार सातपटकसम्म किनबेच भएर अन्ततः कश्मीरका चिकित्सक डा. उमर नबीको नाममा पुगेको खुलेको छ। उनी जैश-ए-मोहम्मदसँग सम्बन्धित रहेको आशंका गरिएको छ।

घटनासँगै जम्मु–कश्मीर, हरियाणा र उत्तर प्रदेश प्रहरीले संयुक्त रूपमा छापा मार्दा हरियाणाको फरीदाबादबाट करिब २,९०० केजी शंकास्पद विस्फोटक, एके–४७ र अन्य हतियार बरामद गरिएको छ। बरामद सामग्रीमा ३६० केजी अमोनियम नाइट्रेट, एके–४७ र बेरेट्टा पिस्तोल पनि पाइएको अधिकारीहरूले जनाएका छन्।

यस प्रकरणमा उत्तर प्रदेशको सहारनपुरबाट डा. आदिल अहमद राथरलाई पक्राउ गरिएको छ। उनीबाट प्राप्त सूचनाका आधारमा फरीदाबादका डा. मुज्जमिल र लखनउकी डा. शाहीन शाहिदलाई समेत पक्राउ गरिएको छ। शाहीनलाई जैश–ए–मोहम्मदको महिला विभाग प्रमुखको रूपमा चिनिने गरिएको बताइएको छ।

दिल्ली प्रहरीले यस घटनालाई आतंकवादी हमला मानेर गैरकानुनी क्रियाकलाप ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ। अहिले यो प्रकरणको अनुसन्धान राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA) र दिल्ली प्रहरीको विशेष शाखाले संयुक्त रूपमा गरिरहेको छ।

सुरक्षा निकायका अनुसार फरेन्सिक प्रमाण र प्रारम्भिक अनुसन्धानमा यो विस्फोट संगठित आतंकवादी समूहद्वारा पूर्वनियोजित रूपमा गराइएको पुष्टि भएको छ। भारतले यसअघि पनि मुम्बई २६/११, पुलवामा २०१९ र पहलगाम २०२५ जस्ता हमलाबाट आतंकवादविरुद्ध कडा चुनौतीको सामना गर्दै आएको स्मरण गरिएको छ।                   

Please Login to comment in the post!

you may also like