• Saturday, October 18, 2025

पेरूमा जेनजीको आन्दोलन: भ्रष्टाचार र अनिवार्य पेन्सनविरुद्ध सडकमा उत्रिए युवा


लिमा, पेरू – दक्षिण अमेरिकी मुलुक पेरूको राजधानी लिमामा सेप्टेम्बर २७ मा हजारौं युवाले राष्ट्रपति दीना बोलुआर्ते र सरकारविरुद्ध नाराबाजी गर्दै सडकमा विरोध प्रदर्शन गरेका छन्। भ्रष्टाचार, आर्थिक असुरक्षा, बढ्दो अपराध र जवाफदेहीताको कमीविरुद्ध जेनजी पुस्ता आक्रोशित बनेको छ। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ, जसमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो भने युवाले ढुंगा र आगजनीले जवाफ फर्काएका थिए।यो आन्दोलन सेप्टेम्बर २० मा पेन्सन प्रणालीमा गरिएको परिवर्तनपछि सुरु भएको हो। नयाँ नियमअनुसार, १८ वर्ष पुगेका हरेक पेरुभियन नागरिकले अनिवार्य रूपमा कुनै निजी वा सरकारी पेन्सन प्रदायक संस्थासँग जोडिनुपर्नेछ। यो नीतिलाई धेरै युवाले ‘जबरजस्ती असुली’को रूपमा लिएका छन्। पेरूको राष्ट्रिय तथ्याङ्क एजेन्सी (आईएनईआई) का अनुसार, देशको २७ प्रतिशत जनसंख्या १८–२९ वर्ष उमेर समूहको छ, र यही समूह आन्दोलनको मेरुदण्ड बनेको छ।युवाहरूको मुख्य प्रश्न छ, “रोजगारी नै छैन, पेन्सनका लागि पैसा कहाँबाट जम्मा गर्ने?” पेन्सन प्रदायक संस्थाहरूमाथि पहिलेदेखि नै भ्रष्टाचार र पारदर्शिताको कमीको आरोप लाग्दै आएको छ। नागरिकहरूले यो नीतिलाई अनिवार्य होइन, स्वैच्छिक बनाउन माग गरेका छन्। साथै, उनीहरूले सरकारले रोजगारी, शिक्षा र सुरक्षामा ध्यान दिनुपर्ने जोड दिएका छन्।यो आन्दोलनमा युवाहरूले जापानी एनिमे ‘वन पिस’को क्यारेक्टर ‘लूफी’लाई आफ्नो प्रतीक बनाएका छन्। लूफी स्वतन्त्रता, मित्रता र न्यायका लागि लड्ने समुद्री डाकुको पात्र हो, जुन विश्वभर युवामाझ लोकप्रिय छ। प्रदर्शनकारीहरूले लूफीको चिनारी मानिने खोपडी भएको झन्डा बोकेर सडकमा उत्रिएका छन्।

विद्यार्थी नेता लियोनार्डो मुन्योसले भने, “लूफी जहाँ–जहाँ गयो, त्यहाँका भ्रष्ट र तानाशाही शासकबाट जनता मुक्त भयो। पेरूमासमेत उस्तै अवस्था छ। अब हामी चुप लागेर बस्दैनौं।” अर्का विद्यार्थी सान्टियागोले थपे, “हामी मृत्यु र भ्रष्टाचारलाई सामान्य ठान्ने अवस्थाबाट थाकिसकेका छौं। हाम्रो पुस्ता अब चुप लाग्ने छैन। सरकार जनतासँग डराउनुपर्छ, जनता सरकारसँग होइन।”पेरूमा लामो समयदेखि राजनीतिक अस्थिरता र भ्रष्टाचारविरुद्ध जनअसन्तुष्टि बढ्दै आएको छ। सन् २०२२ मा पूर्वराष्ट्रपति पेद्रो कास्तिलोलाई पदच्युत गरी गिरफ्तार गरिएपछि सुरक्षाबलको कारबाहीमा दर्जनौं प्रदर्शनकारी मारिएका थिए। यस घटनाको जवाफदेहिताबारे सरकारमाथि प्रश्न उठिरहेको छ।प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक जो–मेरी बर्टका अनुसार, पेरूमा असन्तोष लामो समयदेखि बढिरहेको छ र यो विश्वव्यापी लोकतन्त्रमा बढ्दो दबाबको हिस्सा हो। उनले राष्ट्रपति बोलुआर्ते प्रशासनमाथि अदालत, निगरानी संस्था र अभियोजकहरूलाई कमजोर बनाएको आरोप लागेको बताए। बर्टले यसलाई १९९० को दशकको अल्बर्टो फुजिमोरी शासनसँग तुलना गरे, जतिबेला न्याय प्रणाली नियन्त्रणमा लिएर सत्ता बलियो बनाइएको थियो। सन् २०२६ को आम निर्वाचनअघि निर्वाचन संस्थालाई कमजोर पार्ने आशंका पनि व्यक्त गरिएको छ।जुलाईमा इन्स्टिच्युट अफ पेरुभियन स्टडिजको रिपोर्टअनुसार, राष्ट्रपति बोलुआर्तेको लोकप्रियता जम्मा २.५ प्रतिशतमा झरेको छ भने संसदको विश्वसनीयता केवल ३ प्रतिशत छ। यो तथ्यले जनताको सरकारप्रतिको अविश्वासलाई स्पष्ट पार्छ।प्रदर्शनको असर पेरूको महत्वपूर्ण खानी उद्योगमा पनि परेको छ। पेरू विश्वकै तेस्रो ठूलो तामा उत्पादक मुलुक हो र सुन तथा चाँदीको पनि प्रमुख उत्पादक हो। हडबे मिनरल्सले मंगलबार आफ्नो कन्स्टान्सिया खानीको मिल अस्थायी रूपमा बन्द गर्नुपरेको जनाएको छ, जसले देशको अर्थतन्त्रमा थप दबाब पार्न सक्छ।

पेरूका जेनजी पुस्ताले भ्रष्टाचार, आर्थिक असुरक्षा र सरकारको जवाफदेहीताको कमीविरुद्ध सशक्त आन्दोलन चलाइरहेका छन्। अनिवार्य पेन्सन नीति र सरकारको नीतिहरूप्रति उनीहरूको आक्रोशले सडकहरूमा ठूलो प्रभाव पारेको छ। ‘लूफी’को प्रतीक बोकेर उभिएको यो पुस्ताले सरकारलाई रोजगारी, शिक्षा र पारदर्शितामा ध्यान दिन दबाब दिइरहेको छ। यो आन्दोलनले पेरूको राजनीतिक र आर्थिक भविष्यमा कस्तो प्रभाव पार्छ, त्यो आगामी दिनमा स्पष्ट हुनेछ।

Please Login to comment in the post!

you may also like