• Friday, October 17, 2025

दशैंमा पनि तलब नपाएपछि शिक्षकहरूको खल्लो मन : मधेश प्रदेशमा बढ्दै गुनासो


काठमाडौं । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका शिक्षकहरूले तीन महिनादेखि तलब पाएका छैनन्। दशैंको समयमा तलब आउने आशामा बसेका उनीहरू निराश छन्। साउनदेखि नै तलब रोकिएको अवस्थामा गाउँपालिकाको सभा नबस्नु र प्रशासकीय अधिकृतको अभावले समस्या झन् बढेको छ।जनचेतना माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामकुमार चौधरीले भने, "साउनदेखि तलब आएको छैन। कहिले सभा बस्दैन, कहिले अधिकृत नभएर हो। दशैंमा पनि नआएपछि घरपरिवार चलाउन कठिन भयो। शिक्षकका छोराछोरीलाई पढाउनु पर्छ, दशैंमा तिरोला तिर्नु पर्छ तर तलब नआएपछि कसरी सम्हाल्ने?"संघ सरकारले शिक्षकको तलब एकमुष्ट गाउँपालिकामा पठाइसकेको छ तर स्थानीय तहले निकासा नगरेको हो। चौधरीले गुनासो पोख्दै भने, "गाउँपालिकाले चासो दिएन। अध्यक्ष पनि गैरजिम्मेवार बन्नुभयो।" यस गाउँपालिकामा मात्र १६ वटा विद्यालयका शिक्षक–कर्मचारी प्रभावित छन्। तलब नपाएपछि केही दिनअघि उनीहरूले गाउँपालिकामा तालाबन्दी नै गरेका थिए।गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले दशैं बिदा सकिएको ७ दिनभित्र तलब उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि शिक्षकहरूले ताला खोलेका थिए। असोज १२ गते तलब आउने आशा थियो तर अध्यक्षले ११ असोजका लागि बोलाएको बैठक नै स्थगित गरे। अध्यक्ष चौधरीले जारी गरेको सूचनामा भनिएको छ, "शिक्षक, कर्मचारीको तलब भत्ता चाडबाडको बेला उपलब्ध गराउन नसकेकोमा क्षमाप्रार्थी छु। दशैं बिदा सकिएको ७ दिनभित्र तलब उपलब्ध गराउने प्रतिबद्धता गर्दछु।"

गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरीले भने ११ गते बैठक बसेर तलब निकासा गर्ने तयारी थियो तर अध्यक्षकै कारण स्थगित भएको बताइन्। "कार्यपालिकाले निर्णय गरेर तलब खुवाउने भनेर बैठक बोलाएको थियो तर स्थगित भयो। असार १० मा सभा भएन, त्यसपछि हाकिम पनि आएनन्। मैले समन्वय गरेको थिएँ तर सकिएन," उनले भनिन्।यो समस्या सप्तरीमा मात्र सीमित छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार तलब ढिलाइको गुनासो मधेश प्रदेशबाट सबैभन्दा धेरै आएको छ। मन्त्री महावीर पुनले भने, "मलाई सबैभन्दा धेरै फोन मधेशबाट आएको छ। वर्षभरि दशैं, तिहार र छठ जस्ता चाडपर्वमा पनि पालिकाले ढिलासुस्ती र बहाना देखाएर तलब नदिएपछि ५०० भन्दा बढी गुनासो फोन र इमेलबाट आयो।"मन्त्रालयले तलब नखुवाउने पालिकाहरूको यकिन विवरण खोजिरहेको छ। धेरैजसो सभा नबसेकाले यो समस्या भएको जनाइएको छ। शिक्षा सचिव चूडामणि पौडेलले भने, "कतिपय पालिकाले तलब खुवाएको छैन। मन्त्रालयले महिनामै एकमुष्ट पठाउने गरेको छ तर कुनैले समयमा दिन्छन्, कुनैले दिँदैनन्। कति पालिकामा समस्या छ, पहिचान गरिरहेका छौं।"

शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले पनि गुनासो बढेको बताइन्। "निजामती कर्मचारीलाई तलब दिएको तर शिक्षकलाई नदिएको गुनासो आइरहेको छ। पालिकाहरूको समस्या हो। कर्मचारीलाई बजेट हुन्छ तर शिक्षकलाई पुग्दैन भनेर नदिने गरेको भन्ने पनि सुनिन्छ। कति शिक्षक प्रभावित छन्, यकिन तथ्यांक छैन तर हारगुहार बढेको छ।"शिक्षक तलब ढिलाइको विषयमा मन्त्रालयले अनुसन्धान थालेको छ। मन्त्री पुनले भने, "मन्त्रालयले सबै पालिकालाई पैसा पठाइसकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्नेमा अनुसन्धान गर्दैछौं र समाधानको उपाय खोज्दैछौं।" दुई दिनअघि नै तलब निकासा गर्न निर्देशन दिएको तर कतिपय पालिकाले नमानेपछि यो कदम चालिएको हो।

मन्त्रालयले स्थानीय तह र प्रधानाध्यापकहरूलाई ताकेता गरेको छ। काठमाडौंको तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले प्राविधिक कारणले ढिलाइ हुने तर समाधान हुँदै गएको बताइन् भने मकवानपुरको थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रक्रिया र अधिकृत आउन ढिलाइले समस्या भएको जनाए।यो समस्याले शिक्षकहरूको मनोबल गिराएको छ भने चाडपर्वको उमंग नै खोसिएको छ। मन्त्रालयको अनुसन्धान र निर्देशनले चाँडै समाधान हुने अपेक्षा गरिएको छ।

Please Login to comment in the post!

you may also like