• Friday, October 17, 2025

नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित : दुई खेलमै दुई नयाँ रेकर्ड


काठमाडौं, १४ असोज २०८२ – नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक द्विपक्षीय शृंखलामा लगातार दुई जित हासिल गर्दै एक खेल अगावै शृंखला आफ्नो नाममा गरेको छ। शनिबार पहिलो ऐतिहासिक जित निकालेको नेपालले सोमबार दोस्रो खेलमा ९० रनको फराकिलो अन्तरले वेस्ट इन्डिजलाई पराजित गर्दै टेस्ट राष्ट्रविरुद्ध पहिलो शृंखलामै शानदार प्रदर्शन गरेको हो।सोमबारको खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा उत्कृष्ट प्रदर्शन गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवातमा ४३ रनमा ३ विकेट गुमाए पनि मध्यक्रममा आसिफ शेख र सन्दीप जोराको शतकीय साझेदारीले टोलीलाई बलियो अवस्थामा पुर्‍यायो। आसिफले ४७ बलमा अविजित ६८ रन बनाए भने जोराले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रनको विस्फोटक पारी खेले।

जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिजलाई नेपालले सुरुदेखि नै दबाबमा राख्यो। तेस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले पहिलो विकेट लिए भने चौथो ओभरमा कुशल भुर्तेलको शानदार क्याचले वेस्ट इन्डिज ५ रनमा २ विकेटको अवस्थामा पुग्यो। पावरप्लेमा मात्र १६ रन जोड्दा २ विकेट गुमाएको वेस्ट इन्डिज त्यसपछि पनि सम्हालिन सकेन। आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए भने भुर्तेलले ३ विकेट हात पारे। गुल्शन झा र करण केसीले शानदार क्याच लिँदा नेपालको फिल्डिङले विश्वभरका समर्थकलाई उत्साहित बनायो।शृंखलाअघि कप्तान रोहित पौडेलले वेस्ट इन्डिजविरुद्ध शृंखला जित्ने प्रतिबद्धता व्यक्त गरेका थिए, जुन उनले प्रमाणित गरेर देखाए। खेलपछि रोहितले भने, "२ दिनमै शृंखला जित्न पाउँदा धेरै खुसी लागेको छ। यो हाम्रो लागि महत्वपूर्ण सिरिज थियो। विश्वलाई हाम्रो क्षमता देखाउन पनि जित्नुपर्ने थियो। पछिल्ला वर्षमा हामीले राम्रो गर्दै आएका छौं, र अझै राम्रो हुँदै जानेछ।"यो शृंखलाले नेपाललाई दुई ऐतिहासिक रेकर्ड बनाउने अवसर दिएको थियो। पहिलो, आईसीसीको पूर्ण सदस्य (टेस्ट) राष्ट्रलाई हराउने, र दोस्रो, टेस्ट राष्ट्रविरुद्ध द्विपक्षीय शृंखला जित्ने। दुई खेलमै यी दुवै रेकर्ड नेपालले आफ्नो नाममा लेखायो। नेपालले हालसम्म हङकङ, मलेसिया, यूएई, अमेरिका, नेदरल्याण्ड्स र केन्यासँग मात्र द्विपक्षीय शृंखला खेलेको थियो, जहाँ ४ शृंखलामा जित हासिल गरेको थियो। तर, टेस्ट राष्ट्रविरुद्ध यो पहिलो शृंखला जित हो।राष्ट्रिय टोलीमा ३ वर्षपछि फर्किएका मोहम्मद आदिल आलमले सोमबारको खेलमा ब्याटिङमा ११ रन (१ चौका, १ छक्का) बनाए भने बलिङमा ४ विकेट लिएर शानदार प्रदर्शन गरे। स्पट फिक्सिङ प्रकरणमा प्रतिबन्धपछि फर्किएका आदिलले आसामविरुद्धको शृंखलामा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। यस्तै, सन्दीप जोराले पनि आसामविरुद्धको लयलाई निरन्तरता दिँदै मध्यक्रममा ६३ रनको विस्फोटक पारी खेल्दै आफूलाई प्रमाणित गरे।

दुई खेलमा निरिह बनेको वेस्ट इन्डिजलाई अब अन्तिम खेलमा क्लिनस्वीपबाट जोगिने दबाब छ। नेपालले भने यो शृंखलालाई ३-० ले जितेर अर्को इतिहास रच्ने अवसर पाएको छ।नेपालको यो ऐतिहासिक जितले विश्व क्रिकेटमा नेपाली टोलीको क्षमता र सम्भावनालाई थप उजागर गरेको छ। समर्थकहरूले अब अन्तिम खेलमा पनि यस्तै जोशिलो प्रदर्शनको अपेक्षा गरेका छन्।

Please Login to comment in the post!

you may also like